टिचिङ अस्पतालका अप्टोमेट्रिस्टको ठगीधन्दा
nayapatrikadaily.com · Thu Jan 06 03:20:00 GMT 2022
त्रिवि शिक्षण अस्पतालअन्तर्गत बिपी कोइराला लायन्स सेन्टरमा कार्यरत सञ्जीव भट्टराईले आफूलाई डाक्टर भन्दै बिरामीलाई ठग्ने गरेका छन् । लायन्स सेन्टरमा उनी अप्टोमेट्रिस्ट हुन् । तर, उनले आफू विशेषज्ञ डाक्टर भएको भन्दै दर्जनौँ मानिसलाई झुक्याउँदै पैसा असुल्ने गरेका छन् ।
उनले त्रिवि डाक्टर सञ्जीव भट्टराईको नाममा फेसबुक आइडी बनाएका छन् । जसमा आफू त्रिविको असिस्टेन्ट प्रोफेसर भएको उल्लेख गरेका छन् । आँखामा समस्या भएमा सम्पर्क गर्नुहोला भन्दै उनले धेरैलाई म्यासेन्जरमा म्यासेज गर्ने गरेको पाइएको छ । म्यासेजमा आफ्नो मोबाइल नम्बर दिँदै म्यासेज गर्न वा आफ्नो नम्बर पठाउनसमेत आग्रह गर्ने गरेका छन् । सम्पर्कमा आएकालाई भेट्न बोलाउने र विभिन्न निजी आँखा क्लिनिकमा लगेर चेकजाँच गर्ने गरेका छन् । कसैलाई भने अस्पतालमै चेकजाँच गर्ने गरेका छन् । अस्पताल बोलाइएका बिरामीसँग पैसा असुल्ने गरेको भेटिएको छ । भट्टराई शिक्षण अस्पतालका स्थायी कर्मचारी हुन् । ड्युटी समयमा बाहिरी क्लिनिकमा काम गर्ने उनले आफ्नो सम्पर्कमा आएका बिरामीलाई क्लिनिकमा लगेर आफैँले परीक्षण गर्ने गरेका छन् । त्रिवि शिक्षण अस्पतालअन्तर्गत बिपी कोइराला लायन्स सेन्टरको नामबाट आँखा अस्पताल सञ्चालनमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)