कृषि तथा उद्यममा करोडसम्म सस्तो कर्जा
ekantipur.com · Mon Nov 22 01:16:34 GMT 2021
काठमाडौँ — कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा पाइने भएको छ । यी दुई शीर्षकमा एक करोड रुपैयाँभन्दा कम रकमको कर्जा आधार दरमा बढीमा २ प्रतिशत मात्र थपेर दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । एकीकृत निर्देशन २०७८ मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ । गत आर्थिक वर्षमा १५ लाख रुपैयाँसम्मको यस्तो कर्जा मात्र सस्तो दरमा प्रवाह गर्नुपर्ने निर्देशन थियो । चालु आर्थिक वर्षमा कर्जाको सीमा बढाएर एक करोड रुपैयाँ पुर्याएको हो ।
‘बैंक तथा वित्तीय संस्थाले एक करोड रुपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसायबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ । कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय भए पनि तिनको प्रकृति आयातमूलक भए यस्तो सुविधा नपाइने राष्ट्र बैंकले प्रस्ट्याएको छ । आधार दर बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार (बेस रेट) हो । स्रोत व्यवस्थापन (निक्षेप संकलन तथा व्यवस्थापन) गर्दा लाग्ने लागत जोडेर आधार दर निकालिन्छ । यही दरमा प्रिमियम थप गरेर बैंकहरूले कर्जाको ब्याजदर तोक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)