मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हेटौंडा सिमेन्ट ४ वर्षमा ८० करोड घाटामा

ekantipur.com · Sun Aug 07 00:44:43 GMT 2022

मकवानपुर — सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले पछिल्लो चार वर्षमा करिब ८० करोड रुपैयाँ घाटा बेहोरेको छ । उत्पादित सिमेन्ट बिक्री नहुँदा उद्योग निरन्तर घाटामा गएको हो । बर्सेनि घाटाले उद्योगको ऋण भने करिब २० करोड रुपैयाँ पुगेको छ ।

उद्योगले आर्थिक वर्ष ०७८/७९ मा करिब साढे २३ करोड रुपैयाँ घाटा बेहोरेको छ । गएको आर्थिक वर्षमा एक अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको उद्योगले एक अर्ब ३९ करोड खर्च गरेको छ । उद्योगमा उत्पादित करिब तीन लाख बोरा सिमेन्ट बिक्री नभएर गोदाममै थन्किएको छ । उद्योगले ०७८/७९ मा १९ लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो । उद्योगले त्यसअघि ०७५/७६ मा एक करोड ५ लाख, ०७६/७७ मा २३ करोड ८२ लाख, ०७७/७८ मा थप १७ करोड चार लाख रुपैयाँ नोक्सान भएको थियो । महाप्रबन्धक वसन्त पाण्डेका अनुसार आर्थिक वर्ष ०७४/७५ मा भने उद्योगले १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । ‘त्यसयता उद्योग निरन्तर घाटामा छ,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)