टीकापुरमा बजार अनुगमन
gorkhapatraonline.com · Thu May 21 04:21:21 GMT 2026

टीकापुर नगरपालिकाले स्वास्थ्य संस्था र प्लास्टिकजन्य पदार्थ विक्रीवितरण गर्ने पसलको अनुगमन गरेको छ । टीकापुर बजारका १९३ फर्मको अनुगमन गरी केहीलाई निर्देशन, केहीलाई म्याद र केहीलाई अन्तिम पटक चेतावनी दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले बताउनुभयो । एक साताको अवधिमा ११७ वटा व्यवसाय, ५२ वटा प्लास्टिक व्यापारी र २४ वटा मेडिकलको अनुगमन गरिएको छ । २०८२ साउनदेखि प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाए पनि बजारमा ठुलो मात्रामा प्लास्टिकका झोला भेटिएका छन् । नगरपालिकाको सरसफाइ शाखाका प्रमुख लोकबहादुर बुढाले भन्नुभयो, “वितरणका लागि राखिएका ६५ किलो प्लास्टिकका झोला जफत गरिएका छन् । थोक बिक्रेतासँग सय क्विन्टल जति प्लास्टिकका झोला भेटिएकोले सिल गरेर अबदेखि कारोबार नगर्ने सर्तमा छोडिएको छ ।”
अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको टीकापुर हेल्थ केयर सेन्टर प्रालिमा ताला लगाएर मापदण्ड अनुसार सर्ने कबुल गराई छोडेको छ । बजारमा रहेका आमाको दुधलाई प्रतिस्थापन गर्ने दुधदानी, पाउडर दुधलगायतका सामग्री नबेच्न र अहिले रहेका पाउडर डाक्टरको सल्लाह अनुसार मात्रै बेच्न निर्देशन दिइएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)