लयमा फर्कने दाउमा कोलकाता, ह्याट्रिक जितको खोजीमा पञ्जाब
ratopati.com · Mon Apr 06 12:15:00 GMT 2026

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को १२औँ खेलमा आज कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल कोलकाताको घरेलु मैदान कोलकातास्थित इडेन गार्डेन स्टेडियममा बेलुका ७:४५ बजे सुरु हुनेछ ।
यस सिजनमा दुवै टोलीको यो तेस्रो खेल हो। कोलकाताले आफ्ना अघिल्ला दुवै खेलमा हार बेहोरेको छ भने पञ्जाबले दुवै खेलमा जित हात पारेको छ। पञ्जाबले पहिलो खेलमा गुजरात र दोस्रो खेलमा चेन्नईलाई पराजित गरेको थियो।
पञ्जाबविरुद्ध कोलकाताको रेकर्ड शानदार
कोलकाता र पञ्जाबबिच हालसम्म ३५ पटक भिडन्त भएको छ। जसमा कोलकाताले २१ र पञ्जाबले १३ खेलमा जित दर्ता गरेका छन् भने एक खेल नतिजाविहीन बनेको छ। इडेन गार्डेनमा यी दुई टोली १४ पटक आमनेसामने भएका छन्। आफ्नो घरेलु मैदानमा कोलकाताले ९ र पञ्जाबले ४ खेल जितेको छ, जबकी एक खेलको नतिजा निस्किएको थिएन।
अंगकृष र वैशाखको उत्कृष्ट लय
कोलकाताका लागि यस सिजन केही खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। अंगकृष रघुवंशीले २ खेलमा १७७.५८ को स्ट्राइक रेटमा १०३ रन बनाएका छन्, जसमा दुई अर्धशतक सामेल छन्। बलिङतर्फ ब्लेसिङ मुजराबानीले २ खेलमा ४ विकेट लिएका छन्। यद्यपि उनको इकोनोमी १०.७१ रहेको छ।
अर्कोतर्फ, पञ्जाबका लागि कूपर कोनोलीले २ खेलमा १६३.६३ को उत्कृष्ट स्ट्राइक रेटमा १०८ रन बनाएका छन्। बलिङमा विजयकुमार वैशाखले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै २ खेलमै ५ विकेट लिएका छन्।
कोलकातामा सिजनको दोस्रो खेल
इडेन गार्डेनको पिच ब्याटिङका लागि निकै अनुकूल मानिन्छ। सुरुवाती समयमा तीव्र गतिका बलरहरूले केही मद्दत पाउन सक्छन्। यहाँ अहिलेसम्म आईपीएलका १०१ खेल खेलिएका छन्। जसमा पहिले ब्याटिङ गर्ने टोलीले ४३ र रन चेज गर्ने टोलीले ५७ खेल जितेका छन् भने एक खेल रद्द भएको छ।
यस मैदानको उच्च स्कोर २६२/२ हो, जुन पञ्जाब किंग्सले २०२४ मा कोलकाता नाइट राइडर्सविरुद्ध बनाएको थियो। यस सिजन कोलकातामा भएको पहिलो खेलमा हैदरावादले पहिले ब्याटिङ गर्दै २२६ रन बनाएको थियो, जसको जवाफमा कोलकाता १६ ओभरमा १६१ रनमै अलआउट भएको थियो।
खेलाडीमा विशेष नजर :
क्यामरन ग्रीन
कोलकाताले क्यामरन ग्रीनलाई २५.२ करोड भारु तिरेर किनेको थियो, जुन विदेशी खेलाडीका लागि कीर्तिमानी मूल्य हो। यद्यपि, उनले अहिलेसम्म बलिङ गरेका छैनन् र सुरुवाती दुई खेलमा ब्याटबाट पनि रन बनाउन सकेका छैनन्।
मुम्बईविरुद्ध १८ रन बनाएका उनी हैदरावादविरुद्ध २ रनमै रनआउट भएका थिए। उनलाई तेस्रो र चौथो नम्बरमा परीक्षण गरिएको छ, कोलकाता उनी छिट्टै लयमा फर्किने आशामा छ।
विजयकुमार वैशाख
अर्शदीप सिंह र युजवेन्द्र चहलले धेरै ध्यान खिचिरहँदा पञ्जाबका विजयकुमार वैशाखको योगदान भने धेरैको नजरमा परेको छैन। उनले दुई खेलमा ५ विकेट लिएका छन्, जसमध्ये ३ विकेट डेथ ओभरमा आएका हुन्।
गत सिजन ५ खेलमा ४५.२५ को औसतमा मात्र ४ विकेट लिएका उनको यो प्रदर्शन निकै तारिफयोग्य छ।
आज कोलकातामा वर्षाको सम्भावना
सोमबार कोलकातामा बिहान हल्का हुस्सुसहित घाम लाग्न सक्छ। दिन ढल्किँदै जाँदा गर्मी महसुस भए पनि दिउँसोपछि मौसम अचानक परिवर्तन भई मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। एक्युवेदरका अनुसार वर्षाको सम्भावना ५७% छ भने तापक्रम २४ देखि ३५ डिग्री सेल्सियसको बीचमा रहनेछ।
दुवै टोलीको सम्भावित प्लेइङ-१२:
कोलकाता नाइट राइडर्स: अजिंक्य रहाणे (कप्तान), क्यामरन ग्रीन, अंगकृष रघुवंशी (विकेटकिपर), रिङ्कु सिंह, रमनदीप सिंह, अनुकूल रोय, सुनिल नारायण, वरुण चक्रवर्ती, वैभव अरोडा, कार्तिक त्यागी, ब्लेसिङ मुजराबानी, फिन एलेन।
पञ्जाब किंग्स: प्रभसिमरन सिंह (विकेटकिपर), कूपर कोनोली, श्रेयस अय्यर (कप्तान), नेहल वढेरा, शशांक सिंह, मार्कस स्टोइनिस, मार्को यानसेन, जेभियर बार्टलेट, विजयकुमार वैशाख, अर्शदीप सिंह, युजवेन्द्र चहल, प्रियांश आर्य।
रोचक तथ्य र तथ्याङ्क:
युजवेन्द्र चहलले अजिंक्य रहाणे र रिङ्कु सिंहविरुद्ध सधैँ दबदबा कायम राखेका छन्। उनले रहाणेलाई ४५ बलमा ४६ रन मात्र दिएर ४ पटक आउट गरेका छन्। त्यस्तै, रिङ्कुलाई १९ बलमा १५ रन मात्र दिएर २ पटक पेभेलियन फर्काएका छन्।
प्रभसिमरन सिंहले सुनिल नारायणको बलमा सहजै रन बनाएका छन्। पञ्जाबका यी ओपनरले नारायणविरुद्ध १७ बलमा २९ रन जोडेका छन् र उनीविरुद्ध अहिलेसम्म आउट भएका छैनन्।
इडेन गार्डेनमा पञ्जाबको जितको अनुपात ०.४४ (४ जित, ९ हार, १ नतिजाविहीन) छ। कम्तीमा १० आईपीएल खेल खेलेका मैदानहरूमध्ये पञ्जाबको यो दोस्रो सबैभन्दा खराब रेकर्ड हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)