सम्बन्ध सुदृढ बनाउन जोड
ekantipur.com · Sun Apr 03 00:48:54 GMT 2022
नयाँदिल्ली — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय एकल र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले आपसी सम्बन्ध थप बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेका हुन् । उनीहरूबीच करिब एक घण्टा द्विपक्षीय संवाद भएको थियो ।
संवादमा दुवै नेताले दुई मुलुकबीचको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने बताएको बैठकमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । बैठकपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी संयुक्त वक्तव्यमा दुवै नेताले दुई देशबीचको भूगोल, इतिहास, संस्कृति, वाणिज्य र जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ । बैठकपछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले नेपाल–भारतको पुरानो सम्बन्धबारे चर्चा गरे । उनले मोदीलाई कोभिड महामारीका बेला भारतले गरेको सहयोगका लागि धन्यवाद दिए । उनले सन् २०१४ मा मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदानका लागि आफूहरू सहमत भएको बताए । देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । ‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं, प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्न म प्रतीक्षारत छु,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)