एमाले संसदीय दलको बैठक आज, जोगिएला त कर्णालीका मुख्यमन्त्रीको पद ?
ekagaj.com · Sun Apr 04 00:26:46 GMT 2021
सुर्खेत : कर्णालीमा नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ । जसको लागि आज (आइतबार) संसदीय दलको बैठक बस्दैछ । प्रदेशसभाका सांसद तथा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पार्टीको विषयमा छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको बताए । ‘आजको बैठकमा सांसदहरूले ल्याएका एजेण्डामा छलफल गर्छौ’ संसदीय दलका नेता कँडेलले भने, ‘सांसदका एजेण्डाअनुसार अगाडि बढ्छौ ।’
एमाले प्रदेश कमिटी सदस्य राजु नेपालीकाअनुसार बैठकमा पार्टीको सबै सांसदलाई एकजुट बनाएर अघि बढ्ने विषयमा छलफल केन्द्रित हुने उनले बताइन् । संसदीय दलको बैठकमा सबैलाई सहभागी गराएर छलफलमा जाने उनको भनाइ छ । गएको चैत्र ४ गते एमाले ओली पक्षधर १० जना सांसदहरूको उपस्थितिमा संसदीय दलको बैठक बसेको थियो । बैठकलाई माधव नेपाल पक्षधरले विरोध गरेको थियो । बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)