आधारभूत अस्पताल सञ्चालनमा
gorkhapatraonline.com · Tue Apr 07 02:52:28 GMT 2026

सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–३, चनौटेमा आइतबारदेखि औपचारिक रूपमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने सरकारको नीति अनुसार चनौटेमा आधारभूत अस्पताल सञ्चालनमा आएको हो । नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लाका दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र गोलन्जोर गाउँपालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन् ।
अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले उद्घाट्न गर्दै अस्पताल भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरू तुलसीबहादुर श्रेष्ठ, रुद्रबहादुर विक, पदमबहादुर कटुवाल र दिलबहादुर श्रेष्ठलाई सम्मानपत्र वितरण गर्नुभयो । फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले वडामा सञ्चालित स्वास्थ्य चौकीको स्तरोन्नति गरी १० शय्याको आधारभूत अस्पतालमा परिणत गरिएको बताउनुभयो । फिक्कल गाउँपालिका २५ हजारभन्दा थोरै जनसङ्ख्या रहेकाले नेपाल सरकारको मापदण्ड अनुसार १० शय्याको अस्पताल स्थापना गरिएको हो । अस्पतालमा हाल दुई जना एमबिबिएस चिकित्सकको व्यवस्था गरी आधारभूत स्वास्थ्य सेवा स्थानीयस्तरमा नै नागरिकलाई उपलब्ध गराइँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)