लामापाटामा संयुक्त अस्थायी सुरक्षा बेस क्याम्प
gorkhapatraonline.com · Sun Jun 14 03:16:35 GMT 2026

बाजुरा र हुम्लाको सिमाना सुरक्षाका लागि हिमाली गाउँपालिका–३ को लामापाटामा संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ ।
बाजुरा र हुम्लाका स्थानीयबिच सिमाना विवादले ठुलो रूप लिएपछि अहिले त्यहाँका स्थानीय तथा सिमाना सुरक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली बस्ने गरेर संयुक्त अस्थायी सुरक्षा बेस क्याम्प स्थापना गरिएको हो ।
हुम्ला र बाजुराको सिमानामा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बाजुराबाट प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा २१ जना र नेपाल प्रहरीको पनि प्रहरी सहायक निरीक्षक मिठ्ठु बोहोराको नेतृत्वमा सात जनाको टोली लामापाटामा पठाएको सशस्त्र प्रहरी बल बाजुराका प्रमुख खडकबहादुर शाहीले बताउनुभयो ।
गत जेठ ३ गते हुम्लाको खार्पुनाथ गाउँपालिकाका बासिन्दा आएर बाजुराको हिमाली गाउँपालिका–३ को लामापाटाका स्थानीयमाथि आक्रमण गरेका थिए । उनीहरूको आक्रमणबाट केही घाइते भएका थिए । हुम्लावासीकै कारण अहिले लामापाटाको बस्ती खाली भएको छ । बाजुराको हिमाली गाउँपालिकाको रानीसैन, च्याँचौर, लामापाटामा भएको जडीबुटी तथा जङ्गली जनावरको चोरी निकासी रोक्नका लागि यहाँका स्थानीयले लामापाटामा अस्थायी प्रहरी चौकी स्थापनाको माग राख्दै आएका थिए । त्यो चौकी स्थापनामा हुम्लावासीले अवरोध गरेका थिए । बाजुरा र हुम्लाको सिमाना सुरक्षाका लागि पछिल्लो समय त्यहाँ सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस क्याम्प स्थापना गरेको बाजुरा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अस्थायी रूपमा भए पनि सुरक्षा बेस स्थापना भएपछि लामापाटावासीलाई पनि गाउँ फर्किन सहज हुन्छ ।” रानीसैन च्याँचौर र लामापाटा कसको हो भन्ने विषयबारेमा जेठ ११ गते सरकारले नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा सीमाक्षेत्र अध्ययन टोली र गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज कँडेलको संयोजकत्वमा घटनाको छानबिनका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ । दुईटै टोलीले आफ्नो अध्ययन सुरु गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)