महँगीका कारण राजमार्ग विस्तार प्रभावित
gorkhapatraonline.com · Sun Jun 14 03:33:39 GMT 2026

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने महेन्द्र राजमार्ग विस्तारको काम अत्यन्त सुस्त बनेको छ । इन्धन र निर्माण सामग्री असाध्यै महँगो भएको भन्दै निर्माण व्यवसायीले राजमार्ग विस्तारको काममा ढिलासुस्ती गरेका हुन् । सर्लाही, महोत्तरी र धनुषा खण्डमा राजमार्गलाई चार लेन कायम गर्न गत वर्षदेखि पुल, कलभर्ट र सडक निर्माणको काम जारी रहेको छ ।
कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) ले राजमार्ग विस्तारको काम कछुवा गतिमा अघि बढेको स्वीकार गरेको छ । आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासले अहिलेसम्म ४७ प्रतिशतको हाराहारीमा काम भइसक्नुपर्नेमा २५ प्रतिशत मात्रै काम भएको जानकारी दिनुभयो । निर्माण व्यवसायीलाई जति नै ताकेता गरे पनि महँगीलाई कारण देखाइरहेको आयोजना प्रमुख दासको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले त ताकेता गरिरहेकै छौँ तर उहाँले तेल र निर्माण सामग्रीको भाउ असाध्यै बढेको भन्दै फटाफट काम अघि बढाइरहनुभएको छैन ।”