बाँदर र किसानको मिलापत्र
gorkhapatraonline.com · Sun Jun 14 03:57:51 GMT 2026

प्रशस्त मात्रामा मकै उब्जनी हुने ठुलो फाँट थियो । फाँटको नाम नै गाउँलेले मकै फाँट राखेका थिए । मकै फाँटबाट केही टाढा गाउँलेको बस्ती थियो । मकै फाँटको केही पर ठुलो सुन्दर पहाड थियो । मकै फाँट र पहाडको बिचमा घना जङ्गल थियो । जङ्गलमा थुप्रै बाँदर बस्ने गर्थे । मकै फाँटमा लगाएका मकै जङ्गलका बाँदरले खाइदिन्थे । बाँदरहरू हुलका हुल मकै फाँटमा प्रवेश गर्थे । प्रत्येक वर्ष बाँदरले किसानले लगाएका तरकारी, फलफूल र मकै सखाप पारिदिन्थे । किसानहरू बाँदरदेखि हैरान भएका थिए । बाँदरलाई कसरी नियन्त्रण गर्ने ? भन्ने विषयमा छलफल गर्न किसानले नयाँ वर्षको अवसर पारेर सभाको आयोजना गरे ।
सभामा एक जना अधबैँसे किसानले प्रस्ताव राखे, “साथी हो बाँदर नियन्त्रण गर्न हाम्रो मकै फाँटलाई बाँदर पस्न नसक्ने गरी चारैतिरबाट बार लगाउनु पर्छ ।” अर्को एक किसानले तुरुन्तै जवाफ दिए, “धत उल्लु, जङ्गलमा अग्ला अग्ला रुख चढ्ने, ओर्लने बाँदरलाई बार लगाएर कसरी सुरक्षित राख्छस् ? बरु मेरो विचारमा दिनरात पालो बसेर बाँदर लखेट्ने, अनि बाली जोगाउने ।”
सबै गाउँलेले एकै स्वरमा भने, “हो, हो त्यसै गर्ने ।” तर एक जना ठिटो किसान सभाको बिचैमा उठेर भन्न थाल्यो, “म त बार लगाउने, रातदिन ड्युटी बस्ने कामको समर्थन गर्दिन । तिमीहरूले जे सुकै भन मेरो विचारमा त बन्दुक किनेर ल्याउने अनि बाँदरलाई गोली हानी मारिदिने ।”
यस्तो कुरा सुनेर ठिटा किसान खुसी भए । उनीहरूले ताली बजाए । “हो ! हो ! त्यसै गर्नु पर्छ । सबै बाँदरलाई गोलीले उडाइदिनु पर्छ” ठिटा किसानले भने ।
ठिटा किसान बाँदरलाई मार्ने कुरामा हो मा हो मिलाउन थाले । सभामा होहल्ला भयो । एक जना बुढा किसानले सबैलाई शान्त हुन आग्रह गर्दै भने, “हेर्नुहोस् किसान साथीभाइ ! यसरी हडबडाएर हतारमा फैसला गर्नुहुँदैन । संयमित भएर सोचविचार गरेर नै फैसला गर्नु पर्छ । फैसला गर्दा सबै पक्षलाई ध्यान पनि दिनै पर्छ । बाँदरले हाम्रो बाली प्रत्येक वर्ष नोक्सान गरेका छन् । हामीलाई ठुलो नोक्सान भएको छ तर यत्रो ठुलो मकै फाँटमा बार लगाउन रुपियाँ/पैसा कहाँबाट जुटाउने ? रातबिरात ड्युटी गर्न पनि कति दिन, कति महिना र कति वर्षसम्म सक्ने ?”
ती बुढा किसानले बन्दुक किनेर सबै बाँदरलाई सोत्तर बनाउने तर्क झन सोच्नै नहुने बताए । उनले यसरी जङ्गली जनावर मार्नु भनेको कानुनविपरीत हुने र फेरि बाँदरलाई हाम्रो समाजमा हनुमान मानी पूजासमेत गर्ने चलन रहेको सुनाए । उनले भने, “बाँदर मार्ने निर्णयमा सबै गाउँलेले सहमति नगर्न पनि त सक्छन् नि ! त्यसैले सबै गाउँले दाजुभाइ हो ! आज साँझ पनि पर्न लाग्यो । सबै साथीहरूले शान्त भएर सोचेर भोलि यस विषयमा के गर्ने ? भनी सल्लाह गरौँला । आजलाई यो सभा यहीँ विसर्जन गरौँ ।”
सबैले सहमति जनाए । ‘हो ! हो ! आज साँझ पनि प¥यो, सबैले सोचौँ अनि के गर्नु पर्ला भोलि छलफल गरौँला’ भन्दै सबैजना आआफ्नो घरतिर लागे । उता एउटा बुढो बाँदर लुकेर गाउँलेको कुरा सुनिरहेको थियो । किसानहरू त हाम्रो कारणले ज्यादै मर्कामा परेका रहेछन् । चित्त पनि धेरै दुःखाएका रहेछन् भन्ने ठानेर मनमा कुरा खेलाउँदै जङ्गलतिर लाग्यो ।
बुढो बाँदरले पनि बिहान सबै बाँदरलाई जङ्गलमा भेलाको आयोजना ग¥यो । हिजो बेलुकी आफू डुल्दै मकै फाँटको छेउको गाउँमा गएको र किसानको सभामा सुनेका सबै कुरा सविस्तार सुनायो । सबै बाँदर मित्रलाई अबदेखि किसानको मकै फाँटमा गएर बाली नखाने र आफ्नो जङ्गलमै खानेकुरा खोज्ने प्रस्ताव राख्यो ।
यो कुरा सुनेर बाँदर सभामा भेला भएका सबै बाँदरले एकै स्वरमा, “हुँदैन, हामी त मिठो अन्न, फलफूल, तरकारी र मकै खान पाएका छौँ । तिमी बुढाको मगज बिग्रियो कि कसो ? हामीलाई किसानको के मतलब ? उनीहरूले हाम्रो जङ्गलमा गाईभैँसी चराउने, रुख काटी दाउरा र घाँस ओसार्ने, हाम्रो जङ्गल मासिदिने, हाम्रो जङ्गलको खानेकुरा नासिदिने त्यसैले उनीहरूको बाली नखाए हामी चाहिँ भोकै मर्ने ? हुन्न ! हुन्न ! भोकै मर्नुभन्दा त किसानको गोली खाएर मर्नु जाति । हुँदै हुन्न त्यसैले बुढाको निर्णय फिर्ता लेउ” भन्दै सबै बाँदर नारा जुलुस गर्न थाले ।
बिचरा बुढो बाँदरको केही सिप लागेन । नारा घन्क्याउन लागे, ‘मकै फाँट हाम्रै हो ! मिठो मिठो खानेकुरा पाउनै पर्छ ! जङ्गलमा किसान पस्न बन्द गर्नै पर्छ !’ नारा लगाउँदै बाँदरहरू जुलुस गर्न थाले ।
बिचरा बुढो बाँदरको केही लागेन । बुढाले सबै बाँदरलाई शान्त पार्दै भन्यो, “हेर बाँदर भाइ हो ! मैले किसानको सभामा गएर सबै कुरा सुनेको छु । उनीहरूलाई असाध्यै मर्का परेको रहेछ । उनीहरू कठोर निर्णय लिन पनि तयार छन् । उनीहरूको हिजोको सभामा कुरा मिल्न सकेन, आज फेरि सभामा भेला हुँदैछन् । हाम्रो पनि आजको सभामा कुरा मिल्न सकेन । म आज पनि किसानको सभामा गएर कुरा सुन्छु । अनि हाम्रो पनि सभा बसौँला । उचित निर्णय निकालौँला । म चाहिँ गाउँलेको सभा सुन्न हिँडे ।”
बुढो बाँदर मन गह्रौँ गर्दै किसानको गाउँतिर लाग्यो । किसानको सभामा बुढो गाउँलेलाई सारा किसानले एकै स्वरमा भन्दै थिए, “हामीलाई ज्यादै मर्का परेको छ । बाली सखाप भएको छ । त्यसैले विष किनेर ल्याउने अनि बालीमा विष मिसाएर राख्ने र सबै बाँदरलाई सखाप बनाउने ।” अरू धेरैले कराए “हो, हो विष हाल्नै पर्छ ।”
बुढो किसानले निर्णय दिन नपाउँदै एउटा अधबैँसे किसानसहित केही ठिटा किसान विषको बन्दोबस्त गर्न सहरतिर हिँडे । बुढो किसानलाई कसैले बोल्न नै दिएनन् ।
छेवैमा लुकेर किसानको सभा सुनिरहेको बुढो बाँदर पनि दिक्क मान्दै जङ्गलतर्फ फर्कियो । अब कसरी आफ्ना बाँदर साथीलाई सम्झाउने ? चिन्तित बन्दै सबै बाँदरलाई भेलामा उपस्थित हुन सूचना ग¥यो । अघिल्लो दिन झैँ सबै बाँदर भेला भए । बुढो बाँदरले आज किसानको सभामा भएको सबै छलफल र मकै फाँटमा विष राख्न लागेको योजनाका बारेमा सविस्तार बतायो ।
साथै बुढो बाँदरले आफ्ना साथीलाई सम्झाउँदै भन्यो, “साथी हो ! किसानले विष राखेको थाहा नपाई मकै खान जाने अन्य बाँदर, स्याल, मुसा, खरायो, काग, सुगा जस्ता जनावर र पन्छीसमेत मर्ने छन् । त्यत्रो विनाशको पाप हामीलाई लाग्ने छ । त्यसैले साथी हो यो पाप बोक्नबाट हामी बचौँ । बरु मेरो विचारमा हामीले किसानसँग माफी पनि मागौँ र उनीहरूलाई पनि हाम्रो जङ्गलमा काठ, दाउरा, घाँसपात गर्न, रुख काट्न, गाईभैँसी चराउन नपाउने सर्त राखौँ । हाम्रोतर्फबाट किसानको बाली नोक्सान नगर्ने वचन पनि दिऔँ । यसरी मिलापत्र गरौँ ।
बुढो बाँदरले प्रस्ताव राखेपछि सबै बाँदर एकछिन चुपचाप लागे । केहीबेर सोचेर सबैले एकै स्वरमा भने, “हुन्छ हुन्छ तर हाम्रो प्रस्ताव गाउँले किसानले मान्नै पर्छ ।”
बुढो बाँदरले भन्यो, “ठिक छ साथी हो ! भोलि बिहान सबेरै हामी किसानको गाउँमा गएर हाम्रो निर्णय सुनाऔँ ।”
अघिल्लो दिनको निर्णय अनुसार सबै बाँदर बिहानै गाउँमा पुगेर किसानलाई आफूहरूले गरेको निर्णय सुनाए । किसान बाँदरको निर्णय सुनेर चकित भए । आफ्नै कारणले बाँदरको बस्ने ठाउँ जङ्गलमा भएको क्षतिका कारणले बाँदरले बाली नोक्सान गरेको थाहा पाएर किसान लज्जित भए । बुढो किसानले बाँदरलाई धन्यवाद दिँदै किसानका तर्फबाट यही नयाँ वर्षदेखि जङ्गलमा क्षति नपु¥याउने, गाउँलेहरूको जन्मदिन, शुभकार्य, नयाँ वर्ष, वातावरण दिवस जस्ता अवसरमा नयाँ नयाँ बिरुवा रोप्ने, हुर्काउने, जङ्गल संरक्षण गर्ने र नियम बनाएर मात्रै गाउँलेहरू जङ्गल पस्ने निर्णय सुनाए । सबै बाँदर खुसीले नाच्न थाले ।
मकै फाँटका किसान र बाँदर आआफ्ना ठाउँमा मिलेर बस्ने वाचा गरेर निर्णयको खुसियालीमा सबैले ताली बजाए । त्यस दिनदेखि बाँदरको वासस्थलमा किसानले क्षति पु¥याउने काम बन्द गरे । बाँदर वनका फल खाएर जीवन बिताउन थाले ।
मुना
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)