सर्वसाधारण सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का
ekantipur.com · Fri Aug 12 01:06:38 GMT 2022
काठमाडौँ — मर्जर तथा एक्विजिसनमा जाने संगठित संस्थाहरूमा रहेका सर्वसाधारण लगानीकर्ताको सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का हुने व्यवस्था हुन लागेको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार सार्वजनिक गरेको संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ । जस्ताको तस्तै लागू भए मर्जरका नाममा महिनौंसम्म कम्पनीहरूको सेयर कारोबार रोक्का हुने हालको व्यवस्था हट्नेछ । आधारभूत सेयरको हकमा भने मर्जर तथा एक्विजिसनका लागि कम्पनीहरूबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि साधारणसभाले पारित नगर्दासम्म सेयर कारोबार रोक्का हुने व्यवस्था निर्देशिकामा छ ।
कम्पनी ऐन ०६३ मा २५ करोड रुपैयाँ वा त्यसभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीमा एक प्रतिशतभन्दा बढी सेयर लगानी रहेका र २५ करोडभन्दा कम चुक्ता पुँजी भएका कम्पनीमा ५ प्रतिशत वा त्यसभन्दा बढी लगानी रहेका सेयरधनीलाई आधारभूत सेयरधनी भनेर परिभाषित गरिएको छ । सोही ऐनका आधारमा धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसन प्रक्रिया सुरु भएदेखि साधारणसभा नहुँदासम्म आभारभूत सेयरधनीको सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)