विभाजनको डिलमा प्रलोपाः बाबुराम समूहको आपत्तिप्रति सन्तोषले दिए प्रस्टीकरण
ratopati.com · Thu May 21 09:29:15 GMT 2026

काठमाडौँ । गम्भीर वैचारिक र सैद्धान्तिक मतभेद देखिएसँगै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजनतर्फ उन्मुख भएको छ ।
गतवर्ष फागुनमा भएको चुनावमा अनपेक्षित पराजय भोगेपछि समीक्षा गर्न प्रलोपा अध्यक्ष परिषदले वैशाख ११ र १२ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको थियो ।
बैठकमा परिषदका अध्यक्ष सन्तोष परियारले नयाँ युगको नयाँ ‘समाजवादी लोकतन्त्र’ सम्बन्धी दस्तावेज पेस गरेपछि संरक्षक बाबुराम भट्टराई पक्षधर अर्थात् साविक नयाँ शक्ति समूहले असन्तुष्टि जनाएको थियो । बैठकमा अध्यक्ष सन्तोष परियारले पेस गरेको राजनीतिक दस्तावेज बहस गर्न योग्य नै नभएको भन्दै संरक्षक भट्टराई समूहले बहिष्कार गरेका थिए । तर प्रतिवेदन निर्णयको रूपमा सर्कुलर भएपछि भट्टराई समूह थप चिढियो ।
वैशाख २५ गते बसेको अध्यक्ष परिषद् बैठकले संरक्षक भट्टराई प्रलोपाबाट अलगिएको भन्दै नयाँ यात्राका लागि शुभकामना दिने निर्णय गर्यो । सो निर्णयप्रति डा. भट्टराई थप आक्रोशित भएका थिए ।
‘यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षकका रूपमा रहेका डा. बाबुराम भट्टराईले कुनै पनि साङ्गठनिक जिम्मेवारीमा नरही आफू स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउन चाहेको कुरा पार्टीलाई जानकारी गराउनु भएकोले उहाँको उक्त वैयक्तिक छनौटलाई उच्च सम्मान गर्दै शुभकामना दिने निर्णय गरियो,’ बैठकपछि सार्वजनिक गरेको निर्णयमा भनिएको थियो ।
परिपत्रलाई लिएर भट्टराई समूहले वैशाख ३० गते केन्द्रीय कार्यालय सुविधानगरमा ध्यानाकर्षणपत्र दर्ता गराएको थियो । प्रलोपाको नाममा परिपत्र भनी प्रेषित गरिएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको उक्त पत्रमा उल्लेख छ ।
‘प्रगतिशील लोकतान्त्रिक पार्टीको वैशाख ११ र १२ गते बसेको चुनावी समीक्षा बैठकमा भएको सहमति विपरीत एक्कासि अध्यक्ष परिषदका सदस्य सन्तोष परियारको हस्ताक्षरित जारी परिपत्र नामक पत्र पार्टीको विधान घोषणापत्र, विधि, प्रक्रिया, नीति तथा सिद्धान्त विपरीत भएकाले उक्त पत्रमा उल्लेखित विषयवस्तुहरूलाई अस्वीकार गर्दछौँ’, पत्रमा भनिएको छ ।
पार्टीको औपचारिक सम्बन्धित कमिटीहरूको बैठक बसी छलफल र सहमति पश्चातमात्र विषयवस्तु सार्वजनिक गर्नु पार्टी विधान साथै लोकतान्त्रिक विधि र प्रक्रिया हुने पनि पत्रमा स्मरण गराइएको छ । केन्द्रीय सल्लाहकार, केन्द्रीय विज्ञ परिषद्, संघीय परिषद्, सुशासन तथा सदाचार आयोग, निर्वाचन आयोग, लेखा समिति र पुनरावेशन समितिलाई उक्त पत्र बोधार्थ दिएको छ ।
ध्यानाकर्षण पत्रमा स्कुलिङ विभाग प्रमुख सोनाम सिं स्यान्ताङ, गैर भौगालिक प्रदेश इन्चार्ज टेकबहादुर बाठा मगर, कोशी प्रदेशका इन्चार्ज केदार गुरागाईं, बागमती प्रदेश इन्चार्ज एक बहादुर राना मगर, गण्डकी प्रदेश इन्चार्ज फणीन्द्र देवकोटा, जनजाति महासंघ इन्चार्ज आशा कुमारी तामाङ, मधेस प्रदेश सह–इन्चार्ज राजेश कुमार सिंह, लुम्बिनी प्रदेश सह–इन्चार्ज छन्द पन्थी, कर्णाली प्रदेश सह–इन्चार्ज सरस्वती पाण्डे, सुदूरपश्चिम सह–इन्चार्ज हरि तिमिल्सिना र प्रवास प्रदेश सह–इन्चार्ज धनबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
पार्टीको आन्तरिक विवाद सार्वजनिक रूपमा छताछुल्ल भएपछि अध्यक्ष सन्तोष परियारले प्रस्टीकरण दिएका छन् । परियारले प्रगतिशील वामपन्थी समाजवादी पार्टी बनाउने वैचारिक जगमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन भएको जिकिर गरे । लामो समय वामपन्थी आन्दोलनमा भट्टराईको योगदान र पूर्वप्रधानमन्त्रीको हैसियतले पार्टीको संरक्षक बनाइएको भए पनि त्यो गरिमालाई कायम राख्न नसकेको परियारको आरोप छ ।
‘पार्टी निर्माण गर्ने बेलामै केही वैचारिक कुराहरू स्पष्ट थिए । हामीले प्रगतिशील वामपन्थी समाजवादी पार्टी बनाउने मोटा–मोटी कुरा स्पष्ट थियो । नेपालको राजनीति र कार्यकारी भएर खेलेको भूमिकालाई सम्मान गर्दै बाबुरामजीलाई हामीले संरक्षकको रूपमा राख्यौँ, तर निर्वाचनको समयमा उहाँको भूमिकामा केही विचलनहरू देखिए । उम्मेदवारी दिने र फिर्ता लिने प्रक्रियामा देखिएको अस्थिरताका बाबजुद पनि कार्यकर्ताको मनोबल नखस्कियोस् भनी हामीले नेतृत्वदायी र जिम्मेवार भूमिका निर्वाह ग¥यौँ’, रातोपाटीसँग परियारले भने ।
वैशाख ११ र १२ गते सम्पन्न विस्तारित बैठकले हाल नेपालका पुराना राजनीतिक शक्तिहरू (कांग्रेस, एमाले, माओवादी) विचारका कारण नभई नेतृत्वको व्यवहार र अकर्मण्यताका कारण असफल भएको निष्कर्ष परियारले सुनाए । मार्क्सवाद–लेनिनवाद वा लोकतन्त्रको विचार आफैँमा गलत नभई ती विचारलाई व्यवहारमा उतार्न नसक्ने नेतृत्वका कारण जनतामा नैराश्य छाएको उनले जिकिर गरे ।
रास्वपाप्रतिको भट्टराईको दृष्टिकोण वैचारिक विचलन भएको परियारको टिप्पणी छ । उनले भने, ‘अहिले उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एउटा दक्षिणपन्थी लोकप्रियतावादी शक्तिमात्र हो । पुराना दलहरूको विकृति र विसङ्गतिप्रति जनताले पोखेको आक्रोशका कारण यो शक्तिको उदय भएको हो, तर यसले नेपाली समाजका आधारभूत समस्या, उत्पीडित जाति, वर्ग र समुदायका मुद्दाहरूलाई दीर्घकालीन समाधान दिन सक्दैन । बाबुरामजीले रास्वपाको प्रशंसा गर्नु र त्यसैलाई विकल्प देख्नु उहाँको वैचारिक विचलन हो ।’
पार्टीबाट भट्टराईको बिदाइबारे पनि अध्यक्ष परियारले प्रस्टीकरण दिएका छन् । सुरुदेखि नै भट्टराईले आफूलाई स्वतन्त्र र सबैको अभिभावक भएको दाबी गर्दै आएकाले उनको चाहनालाई पूरा गरिदिएको परियारले स्पष्ट पारे ।
‘उहाँले आफू कुनै पनि पार्टीको सदस्य नरहेको र ब्रह्माण्डकै संरक्षक भएको सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको थियो । आफूलाई स्वतन्त्र र सबैको अभिभावक दाबी गरेपछि उहाँको सोही चाहनालाई सम्मान गर्दै हामीले नयाँ यात्राका लागि शुभकामनासहित बिदाइ गर्ने निर्णय गरेका हौँ’, परियारले भने, ‘हामी वैचारिक रूपमा स्पष्ट वामपन्थी समाजवादी बाटोमा छौँ, जबकि उहाँ रास्वपाजस्ता शक्तिहरूलाई विकल्प देख्ने उदारवादी बाटोमा लाग्नुभएको छ ।’
परियारले पार्टीको मुख्य लक्ष्य नेपाली माटो सुहाउँदो ‘समाजवादी लोकतन्त्र’को अभ्यास गर्नु रहेको बताए । यही विचारले आर्थिक र जातीय समानताका मुद्दाहरूलाई समेट्ने उनको दाबी छ । यसका लागि निरन्तर अध्ययन र अनुसन्धानमा रहेको जानकारी गराउँदै उनले आगामी जेठ १६ र १७ गते सचिवालयको विस्तारित बैठक बस्ने, जसले कार्यविभाजन र पार्टीको आगामी महाधिवेशनको तयारीका बारेमा ठोस निर्णय लिने बताए ।
जेनजी आन्दोलनपछि भट्टराई नेतृत्वको नयाँ शक्ति, माओवादी केन्द्रबाट अलग भएका जनार्दन शर्मा, राम कार्की, सुदन किराती र रास्वपाबाट आएका सन्तोष परियार समूह मिलेर वैकल्पिक राजनीतिक पार्टीको रूपमा मंसिर ७ गते प्रलोपा घोषणा गरेका थिए । तर निर्वाचनमा प्रलोपाले प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने समानुपातिकतर्फ २५ हजार मत पनि कटाउन सकेन । पराजयको नैतिक जिम्मेवारी दिँदै अध्यक्ष परिषदका अध्यक्षहरू किराती, दुर्गा सोव र ओजस्वी भट्टराईले राजीनामा दिएका थिए । किरातीले पार्टी नै परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरिसकेका छन् । नयाँ शक्ति पक्षधरले निर्णय प्रक्रियामा असहमति राख्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)