चालक तथा सहचालकलाई ट्राफिक सचेतना
gorkhapatraonline.com · Sun Jun 14 06:31:29 GMT 2026

केही दिन पहिले झापाको गौरादहमा आफ्नै स्कुल बसद्धारा किचेर एक ४ बर्षिय विद्यार्थीको मृत्यु भएपछि झापामा संस्थागत विद्यालयका चालक सहचालकलाई ट्राफिक सचेतना दिन सुरु गरिएको छ ।
यहाँस्थित कनकाई नगर प्याब्सनले निजी विद्यालयका चालक तथा सहचालकलाई लक्षित गरी एक दिने ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिवार आयोजना गरिएको हो ।
नगर प्याब्सनमा आबद्ध कनकाई क्षेत्रका १७ वटा विद्यालयका ८३ जना चालक तथा सहचालकको सहभागिता रहेको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक मनमोहन पौडेलले स्कुल बस अन्य यातायातभन्दा फरक रहेको भन्दै चालक र सहचालकहरुको अपनाउनु पर्ने नियमबारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा विद्यालय बसमा हुनुपर्ने आपत्कालीन ढोका, प्राथमिक उपचार सामग्री, विद्यार्थीलाई सुरक्षित रूपमा सडक पार गराउने उपाय, चालक तथा सहचालकले पालना गर्नुपर्ने ट्राफिक नियम तथा लापरबाही गरेमा हुन सक्ने कानुनी कारबाहीबारे जानकारी गराइएको थियो ।
यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) तथा लागुऔषध सेवन गरी सवारी चलाउने (लापसे) सम्बन्धी कानुनी व्यवस्था र त्यसका असरबारे जानकारी गराउनुभएको थियो । साथै सहभागी चालक तथा सहचालकले राखेका जिज्ञासाहरूको सहजीकरण गरिएको थियो ।
विद्यालयका वालवालिकालाई सुरक्षित रुपमा घरदेखि स्कुल र स्कुलबाट घर लैजानका लागि चालक र सहचालकहरु समेत तालिम प्राप्त हुनु्पर्ने भएकाले नगर ब्यवस्थापनले कार्यक्रमको आयोजना गरेको कनकाई नगर व्याप्सनका अध्यक्ष विनोद उप्रेतीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)