अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान
ratopati.com
परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरे । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चको यस वर्षकोे विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ ।
आज मन्त्री खड्काले गैरआवासीय नेपाली सङ्घ टर्कीका पदाधिकारी र इस्तानबुलमा रहेका नेपाली उद्यमीसँग व्यवसायका अवसरहरू र चुनौतीहरूका साथै नेपाली समुदायले सामना गर्नुपरेका समस्याबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)