प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी
ratopati.com · Wed Apr 08 13:27:43 GMT 2026

पर्सा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।
वीरगञ्जको नारायणी रङ्गशालामा बुधबार भएको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई डकवर्थ लुइस (डिएलएस मेथड)को आधारमा १८ रनले पराजित गरेको हो । सुरुआतमा ब्याटिङ गरेको मधेस प्रदेशले ३४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनायो । मधेस प्रदेशको तर्फबाट मयन यादवले ४३ रन र विशाल सुसलिङले ४० रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका अपराजित पौडेल र सुवास भण्डारीले तीन–तीन विकेट लिए।
जबाफी ब्याटिङमा उत्रिएको गण्डकी प्रदेशले २२ ओभरमा पाँच विकेटको क्षतिमा ८० रन बनायो । गण्डकी प्रदेशले ब्याटिङ गर्दा पानी परेपछि खेलको निर्णय डकवर्थ लुइस मेथडबाट गरिएको हो । गण्डकी प्रदेशका अर्जुन कुमालले ४९ रन र दिपक डुम्रेले १३ रन बनाए।
बलिङतर्फ मधेस प्रदेशका विशाल पटेल र मोहम्मद आदिल आलमले एक–एक विकेट लिए । आजको खेलमा मधेस प्रदेशका विशाल सुसलिङ प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाए।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रू १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)