देउवा कार्ड देखाएर ओलीमाथि प्रहार गरे प्रचण्डले
barnanmedia.com · Fri Jun 06 21:32:19 GMT 2025

राजनीतिका अस्थिर अनि चतुर खेलाडी हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। उनी भित्रभित्र कुटिल चाल चल्छन् अनि बाहिर निकै सहज देखिन्छन्। विपक्षी खासगरी रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाए पनि ‘संविधानले तय गरेकाले बजेट रोक्न हुँदैन’ भनेर सहज बनाइदिएका प्रचण्ड अहिले आफैं राजीनामा चाहँदैनन्। राजीनामा त के उनी छानबिन समिति पनि चाहँदैनन्। सत्तापक्षले भनिरहेको छ कि अख्तियारले छानबिन गरिरहेको र मुद्दा गइनसकेकाले छानबिन हुन सक्दैन। भिजिट भिसा ठगी प्रकरणमा आक्रामक नभएर कांग्रेसलाई सघाएका प्रचण्ड अहिले माधव नेपाललाई बोकिरहेका छन्। त्यो पनि देउवा कार्ड देखाएर।
हदबन्दीभन्दा बढी जग्गा खरिद गरिसकेपछि मन्त्रिपरिषद्बाट छुट अनि किनेको दुई महिनामै सट्टापट्टा गर्न दिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध अख्तियारले बिहीबार मात्र नेपालसहित ९३ विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो। यो मुद्दा चल्नु अघि अख्तियारले नेपालको बयान नै लिएको थियो। आफूविरुद्ध मुद्दा चल्नेमा उनी कन्फम थिए। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्ड पनि जानकार नै थिए। मुद्दा चल्ने भएपछि रोक्न निकै कोशिश गरे। तर, अख्तियार प्रमुख प्रेमबहादुर राईले निडरता देखाए। खासमा बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले रोक्न खोजेको माधव नेपालको माया लागेर होइन, बरु अख्तियारले मन्त्रिपरिषद्को निर्णयमाथि मुद्दा चलाउदा नजीर बन्छ अनि भविष्यमा आफूहरूमाथि पनि मुद्दा चल्न सक्छ भनेर हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)