फिफा विश्वकप-२०२६ का लागि ‘जम्प’ को नेपाली स्वादमा पुनर्जन्मः भेक र प्रदीप खड्काको विश्व मञ्चसम्मको यात्रा
kalakarmi.com · Sun Jun 14 06:48:45 GMT 2026

काठमाडौं– अभिनेता प्रदीप खड्का यतिबेला विश्वकपको मज्जा लिन क्यानडा पुगेका छन् । पेय पदार्थ कोका–कोलाका ब्राण्ड एम्बासडरको रुपमा उनी विश्वकपमा नेपाली सेलिब्रेटी दर्शकको रुपमा सहभागि भएका हुन् । क्यानडाको पहिलो खेलमा दर्शकको रुपमा सहभागि भएका तस्विर उनले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
यसैबीच, कोका–कोलाको सहयोग तथा अभिनेता प्रदीप खड्काकै सक्रियतामा विश्व प्रसिद्ध अमेरिकी रक ब्याण्ड भ्यान हालेनले सन् १९८४ मा सार्वजनिक गरेको कालजयी गीत ‘जम्प’ नेपाली स्वादमा पनि सुन्न पाइएको छ । गायक तथा गीतकार भेक तथा अभिनेता प्रदीप खड्काले उक्त चर्चित गीतको नेपाली संस्करण हालै सार्वजनिक गरेका हुन् ।
अमेरिका, क्यानडा तथा मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै तयार पारिएको यो विशेष श्रद्धाञ्जली परियोजना कोका–कोलासँगको सहकार्यमा निर्माण गरिएको हो ।
‘नेपालबाट विश्वका लागि’ भन्ने अवधारणासहित तयार गरिएको यस परियोजनाले नेपाली संगीत तथा सिर्जनालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने प्रयास गरेको निर्माण टोलीको भनाइ छ ।
विश्वभर चर्चित रहेको ‘जम्प’ गीतलाई हालै जे बाल्भिन, ट्राभिस बार्कर, स्टिभ भाइ तथा म्याकफ्लाइ जस्ता अन्तर्राष्ट्रिय कलाकारहरूले नयाँ स्वरूपमा पुनः प्रस्तुत गरेका थिए । त्यही विश्वव्यापी अभियानअन्तर्गत नेपाली संस्करण पनि समावेश गरिएको हो, जसले गीतमा स्थानीय पहिचान तथा सांगीतिक स्वाद थपेको छ ।
यस म्युजिक भिडियोको निर्देशन अनुप सापकोटाले गरेका छन् भने निर्माण टप अफ द वर्ल्ड फिल्म्सले गरेको हो । भिडियोमा नेपाली ऊर्जा, फुटबलप्रतिको उत्साह र विश्वकपको माहोललाई समेट्ने प्रयास गरिएको छ ।
विश्वकपको उत्साहसँगै नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय उपस्थितिलाई बलियो बनाउने यो परियोजनालाई धेरैले गर्वको विषयका रूपमा लिएका छन् । नेपाली कलाकारहरूले विश्वस्तरको सांगीतिक अभियानमा आफ्नो छाप छोड्ने अवसर पाएको भन्दै सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।
पूर्ण म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । विश्वकपको माहोलसँगै नेपाली प्रतिभाको विश्वयात्रालाई समर्थन गर्न दर्शक तथा संगीतप्रेमीलाई पनि आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)