निजी बोर्डिङ स्कुलका ५ कक्षाका विद्यार्थीले महिला शिक्षकमाथि हातपात गरेको भिडिओ भाइरल, के हो घटना ?
techpana.com · Sun Jun 14 07:00:14 GMT 2026

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा एक स्कुलको कक्षा कोठामा विद्यार्थीले महिला शिक्षकमाथि हातपात तथा कुटपिट गरेको भिडिओ भाइरल भइरहेको छ । जनकपुरको सेन्टजेभियर हाई स्कुलको घटना भन्दै उक्त सीसीटिभी भिडिओ फुटेज चर्चामा आएको हो ।
भिडिओ फुटेजमा कक्षा चलिरहेको समयमा शिक्षिकाले एक जना विद्यार्थीलाई गृहकार्य नगरेको वा अन्य कुनै विषयमा केही सोधिरहेको जस्तो देखिन्छ । हातमा सानो लौरो जस्तो वस्तु बोकेकी ती शिक्षिकाले दोस्रो पटक हान्न खोजे लगत्तै ती विद्यार्थी उल्टै शिक्षिकामाथि जाइ लाग्छन् र मुक्कामुक्की गर्दै अघि बढ्छन् । उता शिक्षिका भने ज्यान जोगाउने प्रयासमा पछि हट्दै जान्छिन् ।
भिडिओ भाइरल भइरहेको पाइएपछि हामीले उक्त स्कुलमा सम्पर्क गर्ने प्रयास गरेका थियौँ । त्यहाँका एक कर्मचारीले सो भिडिओमा देखिएको घटना चार-पाँच दिन पहिलेको भएको बताए ।
"त्यो भिडिओ हाम्रै स्कुलको हो । चार पाँच दिन अघि स्कुलकै बच्चा एग्रेसिभ भएर बदमासी गरेको थियो," उनले टेकपानासँगको टेलिफोन कुराकानीमा भने, "भिडिओ हेर्दा पनि बच्चाको बदमासी प्रस्टै देखिन्छ ।"
उनका अनुसार महिला शिक्षिकामाथि हातपात गर्ने विद्यार्थी ५ कक्षामा अध्ययनरत छन् भने उनको उमेर १२/१३ वर्ष जति मात्र छ । उक्त विद्यार्थीको विषयमा यसअघि त्यस खाले कुनै ट्रयाक रेकर्ड नभएको उल्लेख गर्दै उनले अचानक आवेशमा आएर शिक्षिकामाथि कुटपिटमा उत्रिएको सुनाए ।
"हामीले उसको अभिभावकलाई बोलाएर तपाईंको बच्चालाई हामी पढाउन सक्दैनौँ भनेर विद्यार्थी जिम्मा लगाइसकेका छौँ," उनले अगाडि भने । उनले यस विषयमा थप जानकारी दिन भने चाहेनन् ।
पछिल्लो अध्यावधिक: जेठ ३१, २०८३ १२:४५
टिप्पणीहरू
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
काठमाडौँ