मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !

ratopati.com · Sun Jun 14 07:33:38 GMT 2026

काठमाडौँ । राप्रपासँग सम्बन्धबिच्छेद गरेको धवलशमशेर राणा समूह र मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं मिलेर नयाँ पार्टी घोषणाको तयारी भएको छ । सम्भवतः असार पहिलो साताभित्र पार्टीले नयाँ आकार लिइसक्ने नेताहरूले बताए ।

केही दिनअघि रातोपाटीसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका नेता दिलनाथ गिरीले नयाँ पार्टीको नेतृत्व धवल शमशेर राणाले गर्ने समझदारी भएको बताएका थिए । पार्टी निमार्णको तीव्र गृहकार्य भइरहेका बेला उनी उपचारका लागि बेलायत उडेका छन् । उनका अनुसार दुर्गा प्रसाईंलाई ‘सर्वमान्य नेता’का रूपमा अगाडि सारिने समझदारी भएको छ ।

पछिल्लो समय पुराना राजनीतिक दलहरू र तिनका नेताहरूमा अहङ्कार बढेका कारण जनतामा वितृष्णा फैलिएको गिरीको विश्लेषण छ । 'दलहरूमा अहमताको पराकाष्ठा भयो, जनतालाई केन्द्रमा राख्नुपर्नेमा पार्टी र आफूलाई सर्वोपरि ठाने,' गिरीले भने, 'त्यही अहङ्कारका कारण काठमाडौँमा बालेन शाहको उदय भयो । हामीले बारम्बार भन्यौँ— कि हामी सच्चिनुपर्छ, कि हामी सकिन्छौँ । तर नेतृत्वले सुन्न चाहेन, त्यसैले अब नयाँ विकल्प अनिवार्य भएको छ ।'

राप्रपाभित्र परिवारवाद र भ्रष्टाचार मौलाएको तथा राष्ट्रिय हित विपरीतका कामहरू भइरहेको आरोप लगाउँदै उनले अब जनतालाई नै मालिक मानेर नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए ।

पार्टीलाई संस्थागत रूप दिन दुई वटा समिति गठन

पार्टी निर्माण प्रक्रियामा सक्रियतापूर्वक लागिरहेका एक नेताले पार्टीलाई संस्थागत रूप दिन दुई वटा समिति गठन गरिएको बताए । ती नेताका अनुसार पार्टीको विधान, नाम र चिह्नका लागि मुकुन्द श्याम गिरीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ । उक्त समितिले पार्टीको नाम, चुनाव चिह्न र विधान तय करिब टुंगो लगाएको छ ।

यसैगरी विभिन्न दलका असन्तुष्ट र सम्भावित व्यक्तिहरूलाई पार्टीमा भित्र्याउने उद्देश्यले छलफल गर्न राजु आचार्यको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली बनाइएको छ ।

यसैबिच नयाँ पार्टीको विषयमा हालसम्म भएका प्रगतिका विषयमा जानकारी दिन आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा नेताहरू राणा र प्रसाईंको सहभागिता रहने नेता रञ्जन कार्कीले बताए ।

वृहत् राष्ट्रवादी एकता कायम गरी देशलाई नयाँ दिशा दिने उद्देश्यका साथ राणा र प्रसाईं मिलेर नयाँ पार्टी बनाउने समझदारी भएको नेता कार्कीको भनाइ छ । दुई नेताबिच जेठ २२ मा ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

‘संवैधानिक राजसंस्थाको पुनर्स्थापना र वैदिक सनातन हिन्दु अधिराज्य’ लाई मुख्य आधार बनाएर बन्न लागेको नयाँ पार्टीले युवा पुस्ता (जेनजी) र राष्ट्रवादी तप्कालाई समेट्ने लक्ष्य राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)