मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ क्षेत्रमा बढ्दो कार्यदबाब र सुरक्षा चुनौतीप्रति ७ संगठनको चिन्ता: कर्मचारीको आत्महत्याबारे निष्पक्ष छानबिनको माग

clickmandu.com · Thu May 21 12:09:38 GMT 2026

काठमाडौं । प्रमुख सातवटा बैंकका कर्मचारी युनियनहरूले बैंकिङ क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अत्यधिक कार्यदबाब, असुरक्षित कार्य वातावरण र कर्मचारीको मानसिक स्वास्थ्यप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

जेठ ४ गते ग्लोबल आइएमई बैंक, विराटनगरमा कार्यरत कर्मचारी पीताम्बर खड्काले आत्महत्या गरेको घटनालाई लिएर ती संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकार र नियामक निकायको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा उक्त आत्महत्याको घटनालाई केवल एक व्यक्तिको अन्त्यका रूपमा मात्र नलिई समग्र बैंकिङ क्षेत्रको प्रणालीगत समस्याको संकेतको रूपमा चित्रण गरिएको छ ।

पछिल्ला वर्षहरूमा बैंकहरूमा कार्य-जीवन सन्तुलनको अभाव भएको र निरन्तरको मानसिक दबाबले कर्मचारीहरूको व्यक्तिगत, पारिवारिक र मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको युनियनहरूको ठहर छ ।

खड्काको निधनले समग्र बैंकिङ क्षेत्रका श्रमजीवी कर्मचारीहरूलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै आफ्नो जिम्मेवारी र प्रचलित कानुन अनुसार काम गर्दा समेत विभिन्न बाह्य दबाब समूहहरूबाट दुर्व्यवहार, धम्की र अपमान खेप्नु परिरहेको विषय उठाइएको छ ।

कतिपय अवस्थामा सामान्य बैंकिङ प्रक्रियालाई समेत ‘गैरकानुनी’ भन्दै कर्मचारीहरूलाई अनावश्यक कानुनी झमेला र सामाजिक आरोपमा फसाउने प्रवृत्ति बढ्दै गएकोमा संगठनहरूले आपत्ति जनाएका छन्। यस्तो संवेदनशील अवस्थामा पनि सम्बन्धित निकायहरूबाट प्रभावकारी पहल र संरक्षण नहुँदा कर्मचारीहरूमा असुरक्षा र निराशा थपिएको विज्ञप्तिमा उल्लेख छ।

नेपालको संविधान र प्रचलित श्रम कानुनले प्रत्येक श्रमिकका लागि सुरक्षित र मर्यादित कार्य वातावरणको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै युनियनहरूले विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले बैंकिङ क्षेत्रमा श्रम मापदण्डको पूर्ण कार्यान्वयन, कार्यसमय र अतिरिक्त कार्यको स्पष्ट व्यवस्थापन तथा कर्मचारीको मानसिक स्वास्थ्य संरक्षणका लागि प्रभावकारी परामर्श प्रणालीको माग गरेका छन्। साथै, कार्यस्थलमा हुने सबै प्रकारका दुर्व्यवहार विरुद्ध कडा कानुनी संयन्त्र निर्माण गर्न सरकार, श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग जोडदार माग गरिएको छ ।

विशेष गरी पीताम्बर खड्काको आत्महत्याको घटनामा कसैको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब, दुरुत्साहन, गैरजिम्मेवार व्यवहार वा संस्थागत लापरवाही भए नभएको बारे निष्पक्ष छानबिन गर्न माग गरिएको छ । यदि छानबिनबाट दोषी प्रमाणित भएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न समेत युनियनहरूले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उच्च तहका कर्मचारीमाथि कारबाही हुँदा सक्रिय हुने कतिपय समूहहरू यस्ता गम्भीर मानवीय प्रश्नमा मौन रहेको भन्दै विज्ञप्तिमा आश्चर्य समेत प्रकट गरिएको छ ।

यसरी संयुक्त रूपमा आवाज उठाउने संगठनहरूमा एभरेष्ट बैंक कर्मचारी संगठन, नबिल बैंक कर्मचारी संघ, एनआइसी एशिया बैंक कर्मचारी संघ, प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियन, नेपाल एसबिआई बैंक कर्मचारी संघ, हिमालयन बैंक कर्मचारी संगठन र सिद्धार्थ बैंक कर्मचारी संघ रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)