मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाली शासकले काबुलबाट सिक्नुपर्ने शिक्षा

rajdhanidaily.com · Mon Aug 16 23:27:46 GMT 2021

तालिवानले निर्णायक युद्ध लडेको छोटो समयमै अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएपछि यो संसारभर चर्चाको विषय बनेको छ । सबैले काबुलमा तालिवानको पुनरागमनपछि के शिक्षा लिने भनी निधार खुम्च्याएको देखिन्छ । यसले वासिंटनमा पूर्व र वर्तमान राष्ट्रपतिबीच वाकयुद्ध नै जारी राख्ने बनाएको छ । अमेरिकी प्रशासन र सेनाको उपस्थितिमा पुरानो सरकार हुर्किइरहेको र हाल उनीहरूको फिर्तीसँगै तालिवानले कब्जामा लिएको घटनाले पनि अमेरिकामा वाक्युद्ध चर्किएको हो । अमेरिकामा यति ठूलो प्रभाव र बहस चलिरहँदा नेपालमा यसको प्रभाव के हुन सक्छ ? यसबारेमा घोत्लिनु जरुरी छ । यसका लागि नेपाली शासक र हाल सत्ताबाट बहिर्गमित अफगानी शासकबीच समानता वा भिन्नता के रहेका छन् सोको गहिरो गरी तुलनात्मक अध्ययन जरुरी छ । देश छोडेका असरफ घानीको सरकारभन्दा हाल काबुलमा सत्तासीन हुन पुगेका तालिवानको सत्ता पश्चगामी र रुढीवादी छ भन्ने सबैलाई थाहा छ । तर, पनि उनीहरू सत्तासीन हुन पुगेका छन् र देशको शासन सत्ताको हर्ताकर्ता हुन पुगेका छन् ।

तालिवानभन्दा प्रगतिशील हो भन्दाभन्दै पनि घानी सरकारले अफगानिस्तानमा जनसमर्थन गुमाउन पुग्नु, प्रशासन सञ्चालनमा विफल रहनु, सेनामा पकड र एकता कायम गर्न नसक्नु, अमेरिकी तालिम र हतियारले पनि श्रेष्ठता कायम गर्न नसक्नुका पछाडिका कारणमा पुग्न जरुरी छ । सारमा काबुल शासकमा भएको असफलता र असक्षमता नै हारको मूल कारण हो । काबुल शासन प्रशासनको माथिल्लो तहमा रहेका सबै ‘तरमारा वर्ग’मा परिणत भइसकेका थिए । उनीहरू सबैको अमेरिकालगायतका विकसित देशहरूमा बस्न ग्रिनकार्ड र पीआर हातहातमा थियो । राष्ट्रपति घानी स्वयंले अमेरिकी नागरिकता लिएका थिए । हाल उनीसँग दोहोरो नागरिकता थियो । प्रशासन, सेना, सामाजिक सेवा, राजनीतिक दल तथा सरकारमा उच्च पदस्थ सबैको हातमा विदेशी परिचयपत्र थियो । उनीहरूका सन्तान विदेशमा बसिरहेका र रोजगार तथा अध्ययन गरिरहेका थिए । उनीहरू अफगानिस्तानका लागि अफगानी अनुहारका ‘टुरिस्ट’जस्ता थिए । कमाइको सिंगो भाग विदेश पठाउँथे । राज्य दोहनको भाग पनि विदेशमै जान्थ्यो । उनीहरू अमेरिकी प्रशासन र सुरक्षा बलको आडमा रजाइँ गरिरहेका थिए । यसले उनीहरूमा दुई फरक दायित्व सिर्जना गरिदिएको थियो ः दलाल प्रवृत्ति र देशका लागि ज्यान फालेर काम गर्न नसक्ने डरपोकपन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)