'मेयर बालेनसँग प्रधानमन्त्री ओली जुध्नु जरुरी छैन' (भिडियो)
shilapatra.com · Thu Sep 05 14:12:00 UTC 2024

अर्थराजनीतिबारे देशको राजधानी काठमाडौं बसेर लामो समय विश्लेषण गरे हरि रोकाले । उनी कैयौँ नीतिगत बहसमा सामेल भए । सञ्चारमाध्यमबाट अर्थराजनीतिबारे आफ्ना विचारहरू प्रसार गरिरहे ।
यतिबेला भने उनी खोटाङमा रहेको जन्मगाउँ फर्केका छन् । शनिबार उनको अर्थराजनीतिबारे पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन हुँदै छ ।
त्यसकै लागि काठमाडौं आएका रोकासँग गाउँदेखि देखिने सरकार, गाउँलेहरूले झेल्दै आएका समस्याहरू अनि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रहार किन ‘सेलेब्रिटी’ कर्मचारी कुलमान घिसिङ (विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक) र सेलेब्रिटी जनप्रतिनिधि बालेन्द्र शाह (काठमाडौंका मेयर)माथि भयो ? यससँगै कांग्रेस–एमाले सरकारको आयु कति ? यिनै सवालमा शिलापत्रको कार्यक्रम ‘द प्वाइन्ट अफ भ्यु’मा जङ्ग तामाङले गरेको संवादको सम्पादित अंश :
०००
तपाईं त शहर (काठमाडौं)देखि गाउँ फर्किनुभयो । गाउँदेखि हेर्दा सरकार कस्तो देखिँदो रहेछ ?
केटाकेटीमा घरको चित्र बनाउँदाखेरि सबैभन्दा पहिले म छानो बनाउँथेँ । छानो बनाएपछि हाँगा हालेर, पेटी, बार्दली र ढोका क्रमशः बनाउँथेँ । खासमा हाल्नुपर्ने त सुरुमा जग हो । तर, केटाकेटीले घरको चित्र यसरी नै बनाउँछन् । अहिले सरकारको चित्र यस्तै देखिन्छ गाउँदेखि हेर्दा । यसको मतलब सरकार नेतृत्वको ठूलो गफ हुन्छ तर आममान्छे कसरी बसेका छन् ? आममान्छेको जीवनाचार्य के हो ? आममान्छेको चरित्र के छ ? आममान्छेलाई समस्याहरू के–के परेका छन् ? समाधानका उपायहरू के–के हुन सक्छन् ? गाउँमा के परिवर्तन भइरहेको छ ? भएका परिवर्तनलाई दिगो हुने गरी के योजना हुनुपर्छ ? यी सवालहरूमा सरकारले कहीँ पनि चिन्ता गरेको देखिँदैन ।
ओली सरकारले पनि चिन्ता गरेन ?
कुनै सरकारले भुइँ मान्छेका पक्षमा यस्तो चिन्ता गरेको देखिँदैन । देउवा सरकारको पालामा होस्, प्रचण्ड सरकारको पालमा होस् कि ओली सरकारको पालामा, कुनै सरकारको चिन्ता छैन ।
किन यस्तो भएको होला ?
पहिलो त समाज कसरी ‘सिफ्ट’ भइरहेको छ ? समाज कसरी परिवर्तन भइरहेको छ ? समाजमा भइरहेको परिवर्तन के हो ? नयाँ पुस्ताले खोजेको हो ? उनीहरूको शिक्षा, स्वास्थ्यलगायतका मामिलामा सरकार अनभिज्ञजस्तो छ । नीति निर्माण गर्नेहरूले यसबारे अन्दाज नै गरेनन् । ज्ञान पनि छैन । त्यसले गर्दा यस्तो समस्या देखिएको हो । गाउँका जनताको पीडा के छ ? सरकारलाई थाहै छैन । हाम्रो कृषि मन्त्रालय १९९० अगाडि ‘गभर्न’ गर्न स्थापित भएको जस्तो छ । अहिलेको सन्दर्भमा फिट छैन ।
हाम्रो गाउँमा परिवारको सङ्ख्या घट्दो छ । जबकि, परम्परागत कृषि जीविकोपार्जनमुखी थियो, जसका लागि एक हल गोरु, एउटा भैँसी, दुई–चारवटा सुँगुर, एक–दुईवटा बाख्रा चाहिन्छ । यत्ति भए जीवन चल्थ्यो । तर, यत्तिका लागि ठूलो परिवार सङ्ख्या चाहिन्छ । कम्तीमा ७–८ जना नभईकन हिजोको परम्परागत खेतीपाती हुँदैन । तर, अहिले धेरै भए दुई छोराछोरी हुन्छन् । दुई छोराछोरी पनि पढ्न जान्छन्, त्यस्तो भएपछि कसरी खेतीपाती हुन्छ ? हुँदैन । यस्तो बेलामा कृषि कर्म कसरी गर्ने ? उत्पादन कसरी गर्ने ? यसबारे सरकारले सोच्नुपर्छ । नीति बनाउनुपर्छ । यसतर्फ सरकारले सोचेको छैन । नीतिगत परिवर्तनबारे सोच्दैन ।
यी त कृषिसम्बन्धी विषय भए, अब राजनीतिका कुरा गरौँ । जनताका ‘सेलेब्रिटी’ कर्मचारी कुलमान घिसिङ र ‘सेलेब्रिटी’ जनप्रतिनिधि बालेन शाहप्रति किन प्रधानमन्त्री ओलीको प्रहार भइरहेको छ ?
ओलीजीलाई आफूबाहेक अरु मान्छे भुसुनाजस्ता लाग्छन् । तर, कुलमान, बालेनलगायतले उनको विकल्पको कुरा गर्छन् । यी दुईमध्ये एउटाले ‘राइट विङ्ग्स’ र अर्काले ‘लेफ्ट विङ्ग्स’बाट आफ्नो क्षमता देखाए । उनीहरू आफ्नै भूमिकाले स्थापित भए ।
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आउनुभन्दा अघि देश अँध्यारो थियो । हामी १८ घण्टासम्म लोडसेडिङको बिजुलीको मारमा थियौँ । उनले नयाँ शैलीबाट उज्यालोतर्फ हामीलाई उन्मुख गराए । उनले क्षमता देखाए । उनी कुशल इन्जिनियर मात्रै होइनन्, कुशल प्रशासक र कुशल व्यवस्थापक पनि रहेछन् । यो पुष्टि गरिदिए ।
यदि योग्य र सक्षम मान्छे राज्यको कुनै निकायको नेतृत्वमा पुग्ने हो भने नयाँ ढाँचामा काम गर्ने रहेछन् भनेर देखाए । कुलमानले जस्तै त नभनौँ तर अर्कै ढाँचाबाट काठमाडौंलाई व्यवस्थित बनाउने सन्दर्भमा काठमाडौंका मेयर बालेनले काम गर्दै छन् । गरिबहरूप्रति जसरी असहिष्णु देखिए, त्यसमा मेरा विमतिहरू छन् । तर, उनले जसरी ‘हार्ड एन्ड फास्ट’ निर्णय गर्छन्, सार्वजनिक सम्पत्तिको दुरुपयोग नहोस् भनेर कदम चालेका छन्, काठमाडौंलाई सुरक्षित र व्यवस्थित बनाउन जुन मिहिनेत गरिरहेका छन्, यी सबै सकारात्मक छन् ।
ओलीजीसँग यस्तो काम गर्ने क्षमता छैन । ओलीजीलाई विकास रणनीतिका बारेमा जानकारी छैन । उहाँसँग एस–म्यानहरू छन् । आफूसँग विवाद गर्ने मान्छेहरूलाई उहाँ रुचाउनु हुन्न । अहिलेका अन्य शीर्ष नेताहरू त्यस्तै खालका छन् । त्यस कारणले अहिले प्रधानमन्त्री ओलीको विवाद कुलमान र बालेनसँग भएको हो ।
प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा दुई दिनमै झण्डै ८० हजारले पछ्याउन छाडे । यसको अर्थ सरकार र उनीप्रति आक्रोशको प्रकटीकरण हो ?
ओलीजी प्रधानमन्त्री बन्नुभएको ५० दिनजति भयो । बिहानीले दिउँसोको सङ्केत गर्छ भनेझैँ उहाँले यसअघि प्रधानमन्त्री हुँदा जे ‘अन्टसन्ट’ गर्नुहुन्थ्यो, त्यही दोहोर्याउनुभयो । सिर्जनशील भएर सत्ता सञ्चालन गर्दैनन् भन्ने मान्छेहरूलाई ५० दिनभित्रै अनुभूत भइसक्यो । यो कारणले पनि यति धेरै मान्छेले सामाजिक सञ्जालमा अनफलो गरेको हुन सक्छ । तर, एउटा कुरा के हो भने यो अनफलो शहरमा भएको हो । गाउँमा त कुनै नेताप्रति किसान र श्रमजीवी वर्गको चासै छैन । गत वर्षको १५ मङ्सिरदेखि एमालेले थालेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रामा पनि ओलीले आफ्नै ‘क्रिम’ नेता कार्यकर्तालाई मात्रै भेट्नुभयो । गाउँका किसान र श्रमजीवीलाई भेट्नु भएन ।
अनि, कांग्रेस–एमालेबीचको सातबुँदे समझदारी कार्यान्वयन हुने छाँटकाँट देखिन्छ ?
पहिलो त प्रधानमन्त्री ओलीजीले अस्ति दुई वर्ष मेरो कार्यकाल हो भनेर दोहोर्याएर भन्नुभयो । त्यो भन्न जरुरी थिएन । मङ्गलबार कांग्रेसबाट गृहमन्त्री हुनुभएका रमेश लेखकले सातबुँदे सहमति कार्यान्वयन हुन्छ, शंका नगरौँ भन्नुभयो । यसको अर्थ सत्ता गठबन्धनभित्र खिचडी पाकिरहेको छ ।
दोस्रो, अहिलेको सत्ता गठबन्धनको जग नै फितलो छ । त्यो भनेको हामी संसदीय व्यवस्थामा छौँ, संसदीय व्यवस्थामा पहिलो दल सत्तामा र दोस्रो दल प्रतिपक्षमा हुन्छ । नेपालको सन्दर्भमा दुई ठूला दल मिलेर सत्ता बनाएका छन् । सिद्धान्ततः यो अमिल्दो हो । त्यही भएर गठबन्धनको जग फितलो भनिएको हो । फेरि, अर्को के छ भने एमालेले पोलिटब्युरो र कांग्रेसले केन्द्रीय कार्यसमितिबाट एक्लाएक्लै चुनाव लड्ने भने । अहिले दुवै दलले सत्तामा बसेर धन सङ्कलन गरिरहेका छन् । जो प्रधानमन्त्री छन्, उनको दलले धन बढी कमाउँछ । यस्तो बेला गठबन्धनमा ‘टसल’ देखिनु अस्वाभाविक होइन । त्यस कारण यो सरकार लामो समय जान्छ भन्ने मलाई लाग्दैन ।
तपाईंले दुई दलले सत्तामा आएर चुनावकेन्द्रित धन सङ्कलन गर्दै छन् भन्नुभयो । उसो भए कांग्रेस–एमालेको सरकार देश विकास गर्न, सुशासन कायम गर्न र जनताका समस्या समाधान गर्न बनेको होइन ?
होइन, सिर्फ सत्ताका लागि मात्रै हो । सत्तामा जान संविधान संशोधनको एजेन्डा अघि सारे । संविधानको प्रस्तावनाबाट यी दुई दल के समाजवाद झिक्न चाहन्छन् ? समानुपातिक निर्वाचन प्रणाली हटाएर जनजाति, दलित, मधेशीलगायत समुदायलाई फेरि राज्यको मूलप्रवाहमा वञ्चित गर्न चाहन्छन् ? समानुपातिक निर्वाचन प्रणाली, जसले दलित, मधेशी वा सीमान्तकृत वर्गका मान्छेलाई प्रतिनिधित्वको जुन स्थान दिइएको छ, त्यसबाट हटाउन चाहन्छन् ? होइन भने संविधानमा केमा सुधार गर्न चाहन्छन् ? के प्रदेश बिगार्न चाहन्छन् ? वा पालिकाको अधिकार कटौति गर्न चाहन्छन् ? किन संविधान संशोधन गर्नुपर्यो ? समानुपातिक निर्वाचन प्रणाली हटाउन जरुरी छैन । त्यसका लागि संविधान संशोधन गर्न हुँदैन ।
अर्को विषय, प्रधानमन्त्रीले मन्त्रीलाई पन्छाएर सचिवबाट ब्रिफिङ लिन्छन्, कार्यसम्पादन सम्झौता गर्छन् । यसलाई कसरी लिन सकिन्छ ?
यो प्रधानमन्त्रीय प्रणाली हो । सर्वेसर्वा प्रधानमन्त्री छन् । प्रधानमन्त्रीले चाहेमा मन्त्री हटाउन सक्छन् । मन्त्रीहरूमातहत सचिवहरू हुन्छन् । यसरी सम्झौता गर्दै हिँड्नु नाटक हो । प्रधानमन्त्री, मन्त्री र सचिवका आ–आफ्ना उत्तरदायित्व हुन्छन् । जो मन्त्री हुन्छ, उसलाई क्षमतावान् नै ठान्नुपर्छ । तर, कार्यसम्पादन सम्झौता गर्नु आवश्यक छैन । तर, सचिवबाट प्रधानमन्त्रीले ब्रिफिङ लिनु ठीकै हो ।
अन्तिममा, प्रधानमन्त्री ओली काठमाडौंका मेयर बालेनसँगको विवादमा फस्नुलाई कसरी लिनुहुन्छ ?
उहाँ मुलुकको प्रधानमन्त्री हो । कार्यकारी प्रमुख हो । बालेन काठमाडौंको मेयर हुन् । एक जना मेयरसँग प्रधानमन्त्री त्यसरी जुध्नु जरुरी छैन ।
भिडियो:
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१
१९:५७
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)