जंगली च्याउ खाँदा पाल्पामा दुईजनाको मृत्यु
nepalnews.com · Thu May 21 14:42:09 GMT 2026

तानसेन। जंगली च्याउ खाँदा पाल्पाको रम्भा गाउँपालिका ५‚ फलकुनमा दुईजनाको मृत्यु भएको छ।
जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार च्याउ खाएर बिरामी परेका उनीहरूको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो। “गत शुक्रबारनजिकैको जंगलबाट उहाँहरूसहित तीन जनाले च्याउ ल्याएर खानुभएको रहेछ। शनिबार बिहानदेखि बान्ता र झाडापखाला हुन थालेपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो‚” भट्टराईले भने, “उपचारका क्रममा विनिमायाको सोमबार र बालकुमारीको मंगलबार मृत्यु भएको हो।”
च्याउ खाई बिरामी भएकी ५० वर्षीया यममाया जर्घा मगरको भने उपचार भइरहेको छ। उनको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ। त्यसैगरी जिल्लाको तानसेन, निस्दी र माथागढीमा पनि विषालु च्याउ खाएर १२ जना बिरामी परेका छन्।
जिल्ला प्रहरीले उक्त विवरण आजै मात्र सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)