मुनिरको इरान भ्रमण युद्ध रोक्ने अन्तिम प्रयास
shilapatra.com · Thu May 21 14:52:34 GMT 2026
पाकिस्तानका सेना प्रमुख आसिम मुनिरको तेहरान भ्रमण इरान र अमेरिकाबीच बढ्दो तनाव रोक्ने अन्तिम कोसिस भएको विश्लेषकहरूले बताएका छन् । मिडिया रिपोर्टअनुसार यो भ्रमण पश्चिम एसियामा युद्ध सुरु हुने खतरा बढेको समयमा भएको हो ।
विशेषज्ञहरूका अनुसार कुनै महत्त्वपूर्ण प्रस्ताव तत्काल एकअर्का देशमा पुग्ने गरी माथिल्लोस्तरमा छलफल भइरहेको छ । यद्यपि, दुवै पक्षबीच अझै पनि प्रमुख मुद्दामा रहेको विवाद समाधान हुन सकेको छैन ।
इरान आफ्नो देशमा फेरि युद्ध नहुने ग्यारेन्टी खोजिरहेको छ । तर, अमेरिका भविष्यमा अमेरिका र इजरायलबाट ठूलो हमला भएर उच्चस्तरका नेताको हत्या नहुने कुनै विश्वास दिलाउने अवस्थामा छैन । यसको अर्थ इरानमाथि आक्रमणको सम्भावना भविष्यमा पनि छ ।
इरान होर्मुजमाथिको नियन्त्रण कायम राख्ने, विदेशमा फ्रिज गरिएको सम्पत्ति फिर्ता गर्ने, सम्बर्द्धित युरेनियम देशभित्र राख्ने अनुमति हुनुपर्ने अडानमा छ ।
अमेरिका भने इरानका एउटाबाहेक सबै परमाणु भट्टी बन्द हुनुपर्ने र तेहरानको परमाणु केन्द्र मात्रै चालु राख्ने, युरेनियम सम्बर्द्धन रोक्नुपर्ने र सम्बर्द्धित युरेनियम अमेरिकालाई दिनुपर्ने अडानमा छ ।
यी मुद्दामा सहमति भए पनि यिनीहरू लागू गर्ने विषयमा समेत मतभेद छ । अमेरिका सबै सर्त एकसाथ लागू हुनुपर्ने पक्षमा छ भने इरानले चरणबद्ध रूपमा सम्झौता लागू हुनुपर्ने बताउँदै आएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३
२०:३७
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)