रेसुङ्गामा लार्भा नष्ट एवं सरसफाई अभियान
rajdhanidaily.com · Sun Jun 14 10:48:24 GMT 2026

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । आइतबार तम्घासको वडा नम्बर १, २, ८ र ९ वडाबाट लार्भाको खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको हो । गर्मी मौसम बढेसँगै लामखुट्टे बढ्ने र जसले गर्दा मानिसमा विभिन्न प्रकारका रोगहरु लाग्ने भन्दै लार्भा नष्ट अभियान, बृहत सरसफाई तथा सचेतना कार्यक्रम गरिएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख मञ्जु घमले जानकारी दिइन् । नगरपालिकाभित्र पनि मुख्य बजार क्षेत्रमा आइतबार सरसफाई कार्यक्रम गरिएको हो ।
विशेषगरी ग्यारेज, सडकको किनारा भाग, बढी पानी जम्मा हुने क्षेत्र लगायतका ठाउँमा विशेष सरसफाई गरिएको घमले बताइन् । लार्भा हुर्किदैँ गएपछि वयस्क हुने र त्यसको टोकाइबाट मानिसलाई डेंगु, मलेरिया जस्ता रोगहरु लाग्ने गर्दछ । यसबाट बच्नको लागि घर वरिपरि पानी जम्न नदिने, पानी राख्ने भाँडा ढाकेर राख्ने, पुराना टायर, डब्बा, गमला आदिमा पानी जम्न नदिने, लार्भा देखिएको पानी फाल्ने वा नियमित सफा गर्ने गरेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग समेत कम हुने स्वास्थ्य शाखा प्रमुख घमले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)