मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्मचारीलाई योगपछि नागरिकलाई व्रत र उपवास अनिवार्य

Ujyaaloonline.com · Mon Oct 02 00:49:12 GMT 2023

देश र नागरिकको हितमा मात्रै काम गर्न जानेको सरकारलाई त्यसैअनुसारको नीति र योजना बनाउन भ्याइनभ्याइ छ । कतिपय ठाउँमा नागरिक पुग्न सक्दैनन् भनेर प्रधानमन्त्री र मन्त्रीहरु फुर्सद नभए पनि आफैँ कुदिरहेका छन् । तिब्बतको मानसरोवर पुग्न कोही नेपालीले आँट गर्न सक्छ ? एक त बाटो अप्ठ्यारो, अर्को पुगेर फर्कनै लाखौँ रुपैयाँ खर्च हुन्छ । यस्तो आर्थिक मन्दी र महँगीको बेला त्यतिका पैसा खर्च गरेर मानसरोवर पुग्ने आँट कस्ले गरोस् ! मन भए धन हुँदैन, धन भए स्वास्थ्यका कारण जान सकिँदैन । मन र धन भए पनि जो पायो त्यही जान सक्दैन भनेर सबैको तर्फबाट प्रधानमन्त्री, मन्त्री र अरु केही गन्नेमान्नेहरु चीन गएको मौकामा मानसरोवर पुगे । सबै नेपाली नागरिकको तर्फबाट फोटो खिचाए । कसैकसैको भाक्कल पनि पूरा भयो होला । प्रधानमन्त्री र मन्त्रीहरु पुगेपछि सबै नेपाली मानसरोवर पुगे सरह भयो । अब त्यतातिरको बाटो सम्झिरहनुपर्ने झण्झट कसैलाई भएन, आनन्दै भयो ।

आमनेपालीको प्रतिनिधि बनेर प्रधानमन्त्री र मन्त्रीहरु विदेशबाट फर्किएकै दिन नागरिकको हितमा अर्को काम भयो – तेल र ग्यासमा मूल्यवृद्धि ! दशैँको मुखमा सरकारको अर्को उपहार – मूल्यवृद्धिमाथि अर्को मूल्यवृद्धि ! मूल्यवृद्धिको चाङ ! कुरोको चुरो नबुझेका कतिपयलाई लागेको छ – सरकारले नागरिकको हित विपरीत काम गर्यो, तेल र ग्यासमा भाउ बढाएर नागरिकलाई थप पीडा दियो । तर कुरोको चुरो बुझ्ने हो भने सरकारले देश र नागरिककै हितमा यस्तो जोखिमयुक्त निर्णय गरेको हो । कर्मचारीलाई योग अनिवार्य गरेलगत्तै सरकारले नागरिकलाई व्रत र उपवास अनिवार्य गराउने नीति लिएको छ । जुन नीति स्वास्थ्य, वातावरण, अर्थतन्त्र र परम्पराको दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण छ । पछिल्लोपटक बढाएको मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेर सरकारले नागरिकको हितविपरीत काम गरेको छ । तर केही छैन, फिर्ता भएको मूल्यवृद्धि पनि नागरिकलाई व्रत र उपबास बस्न प्रेरित गर्ने खालकै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)