पारालिम्पिक पदक विजेता पलेशालाई दाहालद्वारा सम्मान
nagariknews.nagariknetwork.com · Fri Sep 06 07:11:36 UTC 2024

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्। खुलमटारमा शुक्रबार एक कार्यक्रम आयोजना गरी उनले नेपालका लागि ओलम्पिक/पारालिम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गरेका हुन्।
उनले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुबा प्रदीपलाई पनि सम्मान गरेका थिए। सो क्रममा अध्यक्ष दाहालले पलेशाको जितले संसारभरि रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताए।
‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले पदक प्राप्त गर्नु सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ’, उनले भने, ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गर्छ, त्यसैले पलेशाको यो जित अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्त्वपूर्ण जित हो।’
खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘अहिले समय फेरिएको छ, खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलाठूला समस्याको समाधान पनि दिएको छ।
अहिले पलेशाले पदक जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबले गर्व गरेका छन्, सब खुुसी भएका छन्।’ पलेशाको जित राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्द्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उनले आगामी ओलम्पिकमा पनि थप सफलताको शुभकामना दिए।