जुत्ता लगाए पनि, चिज खाए पनि सरकार हिट छ, यो तागत आर्थिक रूपान्तरणमा लगाउनुपर्छ- गगन थापा
setopati.com · Sun Jun 14 12:18:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको बलियो सरकारले आर्थिक रूपान्तरणका क्षेत्रमा काम गर्नुपर्ने बताएका छन्।
२०४८ सालको जस्तो अनुकूलता र २०१५ सालको जस्तो जनसमर्थन प्राप्त रहेको अवस्थामा बालेन शाह नेतृत्वको अहिलेको सरकार रहेको उनको भनाइ छ।
‘अहिले बलियो, लोकप्रिय र जनसमर्थन प्राप्त सरकार छ, यो सरकारले जे गरे पनि हिट हुन्छ- जुत्ता लगाए पनि, चिज खाए पनि,’ सभापति थापाले आज केन्द्रीय कार्यालयमा भएको सुवर्ण शम्शेर इकोनोमिक श्रृङ्खलामा बोल्दै भने, ‘यस्तो लोकप्रिय र जनसमर्थन प्राप्त तागत भएको बेलामा अर्थमन्त्रीजीले भनेजस्तो बिग पुस, बिग हिट कहाँनेर चाहियो भने सहुलियतपूर्ण ऋणमा विश्वास जगाउनुपर्छ।’
सरकारले कानुनसम्मत ठिक तरिकाले काम गर्दा कांग्रेसले साथ दिने पनि उनले बताए।
‘सरकारका काम कानुनअनुसार प्रक्रियागत छ कि छैन हामी हेर्छौं, कानुनभन्दा माथि छु भन्ने सोच राख्न भएन। संविधान परिधिभित्र रहेर कानुन बनाउने प्रक्रियाअनुसार अघि बढ्नुपर्यो, जहाँ सरकारले कानुनको हेक्का राख्दैन त्यहाँ कांग्रेसले बोल्नुपर्छ, अनावश्यक कुरामा आलोचना गर्दैनौं। कानुनी शासन उल्लंघन भएमा कांग्रेस एकढिक्का भएर उभिन्छ,’ उनले भने।
सरकारले एकै पटक राजश्वमा भयानक वृद्धि गर्छु भनेको उल्लेख गर्दै सभापति थापाले आफूले त्यस्तो आधार नदेखेको पनि बताए।
‘बरू मलाई डर के कुरामा लागेको छ भने- त्यो हुँदैन भन्ने थाहा छ, अलि पछाडि आरोप लगाउनका लागि। हामीले गर्दै थियौं तर हामीलाई गर्न दिएनन् भन्नेतिर लैजाने देख्छु,’ उनले भने, ‘म अर्थमन्त्रीजीलाई आरोप लगाउँदिनँ। अलि अगाडि यति ऋण लिनु भनेको देश नै डुब्नु हो भनिराख्नुभएको थियो, अहिले जाबो यति ऋण लिँदा किचकिच गर्छन् साथीहरू भन्दै गरेको भिडिओ हेरिरहेको थिएँ।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)