मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आत्महत्यामा सामाजिक कारण प्रमुख

rajdhanidaily.com · Sun Aug 22 23:16:51 GMT 2021

नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्ने तथ्यांकले देखाएको छ । देशको कुल जनसंख्याका आधारमा प्रत्येक १ घण्टा २० मिनेटमा एक जनाले आत्महत्या गर्ने गरेको तथ्यांक बढी नै कहालीलाग्दो हो । तर, पनि आत्महत्या गर्नेको संख्यामा कमी आउन सकेको छैन । दुई वर्ष पहिलेसम्म दैनिक १७ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक रहे पनि हाल आएर दैनिक १९ जनाले आत्महत्या गरिरहेका छन् । आत्महत्याको प्रकृति भिन्नाभिन्नै देखिएको छ । आत्महत्या गर्दा विष सेवन गरेर, हाम फालेर, पानीमा डुबेर, आफैंलाई आगो लगाएर, हातहतियारको प्रयोग गरेर, करेन्ट लगाएर तथा झुन्डिएर आत्महत्या गरेको देखिन्छ । यसका पछाडि आर्थिक, सामाजिक, पारिवारिक तथा मानसिक कारणहरू रहने गरेका छन् । तीमध्ये सामाजिक कारण मुख्य रूपमा रहने गरेको छ । मानसिक रूपमा देखापर्ने समस्या सुरुमा आफैंमा मानसिक प्रकृतिका हुँदैनन् । त्यसका पछाडि जेसुकै कारण भए पनि ती कारण आत्महत्याको चरम अवस्थासम्म पु-याउने प्रमुख कारकका रूपमा सामाजिक कारण रहेको हुन्छ ।

नेपालीमाझ सबैभन्दा ठूलो समस्याका रूपमा गरिबी रहने गरेको छ । यही गरिबीले निम्त्याएको समस्यामा समाजका देखासिकी, लोकलाजका कुरा वा बेइज्जत गरेको कुराले त्यसलाई गलत मानसिक एकाग्रता र अनुचित निर्णय लिन बाध्य बनाइरहेको हुन्छ । कसैको व्यंग्यवाण वा घोचपेच, अपमान वा सामाजिक बेइज्जती आर्थिक विषयसँग जोडिएर आएको हुन्छ । यसले मानिसलाई मानसिक रूपमा आक्रान्त बनाइरहेको हुन्छ । उसको भोक, निद्रा, मनोआकांक्षा, मनोबल र साहसमा यसले ह्रास ल्याउँदै गइरहेको हुन्छ । त्यस्ता मानिसले आफूलाई एक्लो र असहाय महसुस गर्न थालिसकेका हुन्छन् । यसले अन्ततः आत्महत्याको सबैभन्दा कमजोर र जघन्य निर्णयतिर डो¥याउँछ । पारिवारिक बेमेल र झैंझगडा सबैभन्दा अपाच्य र बिझिरहने खालका हुन्छन् । घरेलु हिंसा सबैभन्दा डरलाग्दो कारकका रूपमा रहेको अहिलेसम्मका अधिकांश आत्महत्याको अनुसन्धानबाट खुलिरहेको छ । प्रहार, प्रतिप्रहारसँगै मानिसले बाँकी जीवनको कुनै पनि आशा नदेखेपछि आत्महत्याको बाटो रोज्ने गर्छन् । यस अतिरिक्त कतिपय आत्महत्या वंशाणुगत कारणले पनि हुने गरेको अनुसन्धानले देखाएको छ । तर, यस्ता घटना अपवादका रूपमा रहने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)