मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कागेश्वरी मनोहरा नगरपालिकाले असार १ बाट सुरु गर्दै भूमि प्रशासन सेवा

baahrakhari.com · Sun Jun 14 12:31:20 GMT 2026

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले असार १ गतेबाट भूमि प्रशासन सेवा सुरु गर्ने भएको छ । नगरपालिकाले देशमै भूमि प्रशासन सेवा दिने पहिलो पालिका बन्ने मेयर उपेन्द्र कार्कीले दाबी गरेका छन् । कार्कीले लामो समयदेखि स्थानीय तहको एकल अधिकार प्रयोगका लागि प्रयत्न गरे पनि ढिला गरी उक्त अधिकार नगरपालिकाले प्रयोग गर्न लागेको बताए ।

“तीन तहको सरकारसम्बन्धी व्यवस्था भएको संविधान कार्यान्वयनसँगै जग्गा प्रशासनको काम पनि स्थानीय सरकारको मातहतमा रहनेगरी व्यवस्था गरिएकोमा हालसम्म उक्त सेवा सञ्चालनमा कठिनाइ परिरहेको थियो,” मेयर कार्कीले भने, “तर, संघीय सरकारले हालै जग्गासम्बन्धी ऐन र नियमावलीमा समेत संशोधन गरी स्थानीय सरकारले नियमसंगत ढंगले भूमि प्रशासनसम्बन्धी मालपोत र नापी कार्यालयबाट हुँदै आएका कामहरू स्थानीय सरकार मातहत सञ्चालन गर्ने व्यवस्था गरेको छ ।”

उनले यस्तो व्यवस्थाका लागि संघीय सरकारलाई धन्यवाद दिए । संविधानको कार्यान्वयनका लागि लामो प्रतीक्षा गर्नुपरेको उनको भनाइ छ ।

“विगत लामो समयदेखि हामीले स्थानीय सरकारको एकल अधिकार क्षेत्रभित्रको विषय आफैँ सञ्चालन गर्न माग गर्दै आएका थियौँ । कागेश्वरी मनोहराले पटकपटक गरेको प्रयासको फलस्वरुप यही असार १ गते सोमबारदेखि नगरपालिकाबाट नै मालपोत तथा नापी कार्यालयबाट हुँदै आएका जग्गा प्रशासनसम्बन्धी कार्यहरू हामी सूचारु गर्न गइरहेका छौँ,” मेयर कार्कीले भने, “अब सहज, सरल र सुशासन युक्त ढंगले यो सेवा नगरबासीहरूले नगरपालिकाबाटै प्राप्त गर्न सक्नुहुनेछ ।”

उनले नेपालको इतिहासमै जग्गासम्बन्धी सेवा दिने पहिलो नगरपालिका कागेश्वरी मनोहरा बनेको भन्दै गर्व गरेका छन् । “नेपालको इतिहासमा भूमि प्रशासनसम्बन्धी सेवा दिने कागेश्वरी मनोहरा पहिलो नगरपालिका बनेकोमा गर्व गर्न चाहन्छौँ,” कार्कीले भने ।

नगरपालिकाले सूचना प्रकाशित गरी जग्गासम्बन्धी कारोबारको लिखत पारित गर्ने सेवा सञ्चालन गर्न लागेको जनाएको छ । आवास एकाई र गुठी अधिनस्थ जग्गासहितको मोही हकको समेत सेवा दिन लागेको सूचनामा भनिएको छ । नगरपालिकाले भूमि प्रशासन शाखाबाट प्राकृतिक व्यक्तिका बीचमा हुने लिखत पारित गर्ने सेवा सञ्चालन हुन लागेको जानकारी गराएको छ ।

यसअन्तर्गत राजीनामा, हकहिस्सा राजीनामा, दर्ताफारी, सगोलनामा, हकछोडपत्र, दानपत्र, हालैदेखिको बकसपत्र, शेषपछिको बकसपत्र, जग्गासहितको अष्टलोह तथा स्थानीय तहको आफ्नो कार्यक्षेत्रभित्रको भएमा सट्टापट्टा सेवा पनि पर्नेे जनाएको छ ।

त्यसबाहेक अंशवण्डा तथा अंश भरपाई लिखत दिनेछ भने धितो बन्धकी/दृष्टिबन्धकी सेवा पनि सञ्चालन गर्ने जनाएको छ । गैरजग्गा कारोबारको लिखत सेवाअन्तर्गत अंशवण्डा, अंश भरपाई तथा अंश छोडपत्र, करारनामा, मानो छुट्टिएको, मानो जोडिएको, मञ्जुरीनामा, अख्तियार नामा, बरबहाल, कपाली तमसुक, फलोपभोग, जग्गाकोबाहेकको अष्टलोहसम्बन्धी काम पनि गर्ने नगरपालिकाको सूचनामा उल्लेख छ ।

त्यसबाहेका कसुरजन्य सम्पत्ति नेपाल सरकारका नाममा ल्याउने, जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँटको सेवा दिने, अपुताली (नामसारी)सम्बन्धी सेवा दिने, प्रतिलिपि जारी गर्ने तथा विवरण संशोधनसम्बन्धी सेवा दिने जनाएको छ ।

यस्तो छ सूचना

#काठमाडौं

#कागेश्वरी मनोहरा नगरपालिका

#भूमि प्रशासन सेवा

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय