मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बंगलादेश विरुद्धको एक दिवसीयमा अस्ट्रेलियाको सान्त्वना जित, क्लिनस्विप हुनबाट जोगियो

nagariknews.nagariknetwork.com · Sun Jun 14 14:02:03 GMT 2026

बंगलादेश विरुद्धको एक दिवसीय शृंखलामा अस्ट्रेलिया क्लिनस्विप हुनबाट जोगिएको छ।

तेस्रो तथा अन्तिम खेलमा एक विकेटको संघर्षपूर्ण जित निकाल्दै अस्ट्रेलियाले शृंखला क्लिनस्विप हुनबाट जोगाएको हो। पहिलो खेलमा ८६ रनको जित निकालेको घरेलु टोली बंगलादेश दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो। दुवै खेलको निर्णय डर्कवर्थ लेविसका आधारमा भएका थिए।

मिरपुरमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले दिएको २७५ रनको लक्ष्य कंगारु टोलीले ३ बल बाँकी हुँदा ९ विकेट गुमाएर भेट्टाएको थियो।

अन्तिम ३० बलमा ९ रन चाहिएको अवस्थामा धमाधम ४ विकेट गुमाएपछि अस्ट्रेलिया दबाबमा आएको थियो। सरिफुल इस्लामले ३ र मुस्तफिजुर रहमानले एक विकेट लिएपछि अस्ट्रेलिया हार नजिक पुगेको थियो। तर एडम जाम्पाले ५०औं ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै जित दिलाए।

अस्ट्रेलियाको जितमा ओपनर कुपर कोन्नोल्लीले मुस्तफिजुर रहमानको बलमा बोल्ड हुनुअघि १४९ रन बनाए।

सरिफुल इस्लामले ६ विकेट लिएपनि बंगलादेशलाई शृंखला क्लिनस्विपसहितको जित दिलाउन भने सकेनन्। उनले आफ्नो स्पेलमा एक मेडनसहित ४८ रन खर्चेर ६ विकेट लिए।

यसअघि पहिला व्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७४ रन बनाएको थियो। ६१ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै तोहिद रिदोइले ८३ तथा नटआउट रहँदै लिटोन दासले ५८ र मोसादेश हुसेनले ५६ रन बनाएका थिए।

बंगलादेश भ्रमणमा रहेको अस्ट्रेलियाले अब ३ खेलको टी-२० शृंखला खेल्नेछ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)