टीकापुरमा योजना कार्यान्वयन शुरू
abhiyandaily.com
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन शुरू गरेको छ । नगरपालिकाले आवको आगामी भदौ महीनादेखि विकास योजना कार्यान्वयनका लागि वडास्तरमा उपभोक्ता समिति गठन गर्न थालेको छ । टीकापुर–२ ले उपभोक्ता समिति गठनका लागि सूचना प्रकाशित गरेको छ । वडाले विभिन्न टोलमा १४ उपभोक्ता समिति गठनका लागि सूचना जारी गरेको छ । वडाले भदौ १ गतेदेखि भदौ ७ गतेसम्म समिति गठन गरिसक्ने गरी काम थालेको वडाध्यक्ष दीपक चौधरीले जानकारी दिए । ‘कार्यालयले भदौ १५ गतेभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ । सोहीअनुसार हामी भदौ ७ गतेसम्म गठन गरिसक्ने गरी तालिका बनाएर काममा लागेका छौँ,’ उनले भने, ‘वडास्तरमा हुने साना योजना उपभोक्ता समितिमार्फत काम गरिनेछन् ।’
टीकापुर–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि कार्यालयको निर्देशनअनुसार वडामा सात उपभोक्ता समिति गठन गर्नुपर्ने भएकाले आफूहरू भदौ ४ गतेबाट उपभोक्ता समिति गठन कार्यमा जुट्ने जानकारी दिए । ‘वडामा बाटो ग्राभेल, माटो पटानी, सडक निर्माणजस्ता कार्य उपभोक्ता समितिमार्फत गरिनेछन्,’ उनले भने, ‘त्यसका लागि हामी समुदायमा टोल भेला गरेर उपभोक्ता समिति गठन गर्ने तयारीमा छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)