भूकम्पपीडितका लागि जस्तापाता बोकेको ट्याक्टर दुर्घटना हुँदा एउटै पालिकाका पाँचको मृत्यु
nayapatrikadaily.com · Fri Dec 22 00:30:00 GMT 2023
भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन जस्तापाता बोकेको रा.१त१४ नम्बरको ट्याक्टर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १० तिरिकोटमा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । नौजना घाइते भएका छन् । राडीस्थित आठबिसकोट नगरपालिकाको कार्यालयबाट जस्तापाता बोकेर घर्तीगाउँ जाँदै गरेको आठबिसकोट नगरपालिकाको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा आठबिसकोट– १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, लोकबहादुरकी पत्नी ४२ वर्षीया चुकी शाही, सोही ठाउँका ५२ वर्षीय भर्दर सार्की, आठबिसकोट– ८ सार्कीवाडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ वर्षीया निर्मला सार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर धर्मेन्द्र खड्काले बताए । दुर्घटनामा आठबिसकोटका खडकबहादुर पुन, रमेश सार्की, दलबहादुर पुन, कुमार घर्ती, रमा गुरुङ, जगवीर सार्की, जयराम घर्ती, मने सार्की र मदन पुन घाइते भएका छन् । उनीहरूमध्ये केहीको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई रुकुम पश्चिमकै चौरजहारी अस्पताल रेफर गरिएको छ । ट्याक्टरचालक आठबिसकोट– ९ जाल्देनका २१ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)