राष्ट्रिय राजमार्गका नाममा ऐतिहासिक सभ्यता र नागरिक विस्थापित गर्न पाइँदैन : सांसद श्रेष्ठ
nepalpress.com · Sun Jun 14 14:56:49 GMT 2026

ललितपुर । बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई ‘राष्ट्रिय राजमार्ग’ मा रूपान्तरण र विस्तार गर्ने सरकारको तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
विकासको मोडलले स्थानीय सभ्यता, नागरिकको थातथलो र ऐतिहासिक पहिचानलाई विस्थापित गर्न नहुने भन्दै उनले दिगो र जनमुखी विकासको सिद्धान्तप्रति आफ्नो दृढ समर्थन रहेको उल्लेख गरेका छन् ।
सांसद श्रेष्ठले उक्त सडक खण्डलाई राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार केन्द्रविन्दुबाट दायाँबायाँ २५/२५ मिटर र सेटब्याक कायम गरेर विस्तार गर्दा ठुलो वातावरणीय, सामाजिक र सांस्कृतिक संकट सिर्जना हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
ऐतिहासिक ग्वार्कोदेखि सिद्धिपुर, लुभु हुँदै पनौतीसम्मको क्षेत्र मानव बस्ती मात्र नभएर जीवित इतिहास, संस्कृति र प्राचीन नेवारी सभ्यताको केन्द्र भएको उनले बताए ।
युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको यस्तो ऐतिहासिक स्थलमा आधुनिक राजमार्गको मापदण्ड लाद्नु पुरातात्त्विक मूल्य र मान्यताविपरीत हुने भन्दै उनले विकासले सम्पदाको विनाश नभई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)