योजना आयोगले दिएको साढे १८ खर्बको सिलिङ नाघेर बजेट आउँदै
ekantipur.com · Mon May 27 23:50:50 UTC 2024

काठमाडौँ — आम्दानी र खर्च गर्ने क्षमता वृद्धिको सुनिश्चितताबिनै सरकारले राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको सीमामा करिब डेढ खर्ब रुपैयाँ बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । निश्चित आयोजना तथा कार्यक्रमका लागि भन्दा पनि वितरणमुखी कार्यक्रम थपेर सरकारले चालु आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
सत्तापक्षीय गठबन्धन टिकाउन र नागरिकलाई आशा देखाउन पनि बजेटको आकार बढाउने तयारी गरिएको स्रोतले बताएको छ । ‘बजेटको अन्तिम तयारीमा जुटिरहँदा आफ्ना योजना पार्न विभिन्न क्षेत्रबाट ठूलो दबाब आउँछ, तिनको व्यवस्थापनका लागि पनि सिलिङभन्दा करिब डेढ खर्बले बजेटको आकार बढ्न सक्छ,’ स्रोतले भन्यो । सुरुमा ठूलो आकारको बजेट ल्याए पनि स्रोत जुटाउन र खर्च गर्न नसकेपछि सरकारले समीक्षामार्फत बजेट घटाउँदै आएको छ । पछिल्ला दुई वर्षमा सरकारले सवादेखि साढे २ खर्बले बजेटको आकार घटाएको छ । ठूलो आकारको बजेट ल्याउँदा आगामी वर्ष पनि यही प्रवृत्ति दोहोरिने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)