मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोलकत्तामा पोखराको पर्यटन प्रवर्द्धन : ‘गर्मीमा चलो नेपाल’ अभियानमार्फत भ्रमणको निम्तो

nagariknews.nagariknetwork.com · Sun Jun 14 15:02:49 GMT 2026

पोखराका पर्यटन व्यवसायीहरूले भारतको कोलकत्ता (कोलकाता) मा पुगेर त्यहाँका नागरिकलाई पोखरा भ्रमणको औपचारिक निम्तो दिएका छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको नेतृत्वमा आयोजित ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गत व्यवसायीहरूले बी–टु–बी (बिजनेस–टु–बिजनेस) नेटवर्किङ कार्यक्रम गर्दै पोखरालाई भारतीय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गरेका हुन्।

कार्यक्रममा ‘गर्मीमे चलो नेपाल’ नारासहित पोखरा, मुस्ताङको मुक्तिनाथ, अन्नपूर्ण क्षेत्रलगायत गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यबारे विस्तृत जानकारी दिइएको थियो। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार भारतका विभिन्न सहरमा बढ्दो अत्यधिक गर्मीबाट राहत खोजिरहेका पर्यटकलाई लक्षित गर्दै पोखरा भ्रमणको आग्रह गरिएको हो।

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा सुरक्षित, सुन्दर र सहज पहुँचयोग्य गन्तव्य भएको उल्लेख गर्दै सडक कनेक्टिभिटी सुधारका कारण भारतीय पर्यटकका लागि यात्रा झनै सहज बनेको बताए। उनले भने, “यात्रा अवधि छोट्टिएको छ, र भविष्यमा हवाई कनेक्टिभिटी विस्तारका लागि पनि पहल भइरहेको छ।”

उनका अनुसार कोलकत्ताका टुर अपरेटरहरूले पोखरा भ्रमणको प्रस्तावलाई सकारात्मक रूपमा स्वीकार गरेका छन्। यसले आगामी दिनमा पोखरा र समग्र नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कार्यक्रम संयोजक संगीता पौडेलले कोलकत्ता र पश्चिम बंगाल नेपालको पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त बजार भएको बताइन्। उनका अनुसार भ्रमणले व्यावसायिक सहकार्य र नेटवर्क विस्तारमा नयाँ अवसर सिर्जना गरेको छ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाट्टा गण्डकीका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल–भारत सम्बन्धलाई पर्यटनसँग जोड्दै कनेक्टिभिटी विस्तारमा जोड दिनुपर्ने बताए। उनका अनुसार सडक सहज भए पनि पोखरा–कोलकाता सिधा हवाई उडान सञ्चालन भए दुवै पक्षलाई ठूलो लाभ हुने छ।

नेपालका लागि भारतीय महावाणिज्यदूत झक्कप्रसाद आचार्यले पर्यटनलाई दुई देशबीचको मित्रता, संस्कृति र आर्थिक समृद्धिको पुलका रूपमा व्याख्या गर्दै पोखरालाई दक्षिण एसियाकै उत्कृष्ट गन्तव्यमध्ये एक भएको बताए।

त्यस्तै, भारत ETAA इस्टर्न च्याप्टरका अध्यक्ष कौशिक बनर्जीले पोखरालाई भारतीय पर्यटकका लागि नजिक, सस्तो र आकर्षक गन्तव्यको रूपमा उल्लेख गरे।

पछिल्लो समय पोखरा भारतीय पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ। विशेषगरी गर्मी मौसममा ठूलो संख्यामा भारतीय पर्यटक पोखरा आउने क्रम बढेसँगै यहाँका होटलहरू लो सिजनमा पनि भरिभराउ हुने गरेका छन्।

नाट्टा गण्डकीका महासचिव चेतन कार्कीले कोलकत्ता भ्रमणले भारतीय पर्यटक आगमन बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा भारतीय पर्यटन क्षेत्रका विभिन्न संस्थाहरू—भारतीय टुर अपरेटर्स वेलफेयर एसोसिएसन, इन्डियन एसोसिएसन अफ टुर अपरेटर्स, ट्राभल एजेन्ट्स एसोसिएसन अफ बंगाल, एसोसिएसन अफ बुद्धिस्ट टुर अपरेटर्स तथा एसोसिएसन अफ टुरिजम सर्भिस प्रोभाइडर्स अफ बंगालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)