हामी सचेत छौं, सक्रिय छैनौं
rajdhanidaily.com · Wed Aug 04 23:29:07 GMT 2021
यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं । अहिले समाजमा राजनीतिक, प्रशासनिक एवं विभिन्न व्यक्ति एवं व्यक्तित्वबारे विश्लेषण, टीकाटिप्पणी वा आलोचना हुने गरेको छ । अरूको खेदो खन्ने, खुट्टा तान्ने र अरूको प्रगतिमा आहारिसे गर्ने संस्कृति नेपाली समाजमा धेरै अगाडिदेखि हुने गरेको पाइन्छ । अझै राजनीतिमा यो संस्कृति भीमसेन थापाको पालादेखि इतिहासका पुस्तकमा नै दस्तावेजीकरण भएको छ । राणाकालको उदयका प्रकरणदेखि उनीहरूको शासनकालका १ सय ४ वर्ष पनि षड्यन्त्र, कलह र खिचातानीमै बितेको इतिहास छ । तत्पश्चात् प्रजातन्त्रको उदय २००७ सालपछि हालसम्म पनि विभिन्न रूप एवं प्रकरणमा यो महारोगले नेपाली समाजलाई गाँजेको छ ।
यो मुलुकमा चाहिनेभन्दा धेरै नेता छन् । परन्तु, सक्षम राज नेताको अभाव छ । अहिले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन् । उनी प्रधानमन्त्री हँुदा समाजमा खासै उत्साह देखिँदैन । किनभने यो उनको प्रधानमन्त्रीको पाँचांै कार्यकाल हो । उनी प्रधानमन्त्री हुँदा गरेका क्रियाकलाप नेपाली समाजले देखेको छ । भोगेको छ, सुनेको छ । तथापि, इतिहासको कमीकमजोरीबाट पाठ सिकेर उनले अत्यन्त प्रभावकारी काम गर्न सकून् । जनताको शुभकामना छ । त्यसो त राजनीतिमा सरकारको ९० दिनलाई हनिमुन समय पनि भन्ने गरिन्छ । अहिले नै उनको आलोचना गर्न हतारो हुन्छ । परन्तु बिहानले दिउँसोको संकेत गर्छ भनेझैं उनको कार्यशैली दूरदर्शिता देखिँदैन । उनले स्वास्थ्य ऐनविपरीत झलनाथ खनाललाई सरकारी कोषबाट उपचार खर्च दिने निर्णय गरे । यसैगरी, उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर जनमतको खिल्ली उडाएको भन्ने आलोचना भएको छ । अहिलेको गठबन्धन सरकारमा लामो समय खारिएका, जीवनभर राजनीति गरेका जननिर्वाचित प्रतिनिधिको कमी पक्का पनि छैन । तर, पनि लामो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेका, राजनीतिक योगदान नभएका, स्वास्थ्य विज्ञानको विज्ञता नभएका, जनताबाट निर्वाचित नभएका व्यक्तिलाई राज्यमन्त्री बनाउँदा समाजमा आलोचना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)