सञ्चार क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री महतो
gorkhapatraonline.com · Sun Jun 14 17:49:46 GMT 2026

मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले समग्र सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आम सञ्चार प्राधिकरणले आइतबार आयोजना गरेको प्रदेश पत्रकारिता पुरस्कार अध्ययन तथा लेखन छात्रवृति र प्रोत्साहन कार्यविधि २०८३ माथि सरोकारवालासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले लोकतन्त्र प्राप्तीको विभिन्न आन्दोलनमा सञ्चारकर्मीको भूमिका महत्वपुर्ण रहेको भन्दै सञ्चार क्षेत्रको विकास र गुणस्तरीय पत्रकारिताको प्रवर्धनका लागि आउन लागेको अगामी आर्थिक वर्षको वजेटमा पनि विभिन्न कार्यक्रम समेटिने बताउनुभयो । उहाँले मधेश प्रदेश सरकारले आफनै टेलिभिजन, रेडियो र पत्रिका सञ्चालनका लागि अगामी आर्थिक वर्षको वजेट व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशको आठवटै जिल्लावाट सहभागी भएका नेपाल पत्रकार महासंघका वर्तमान र पूर्व सभापतिहरुले प्रदेश पत्रकारिता पुरस्कार अध्ययन तथा लेखन छात्रवृति र प्रोत्साहन कार्यविधि २०८३ मा समावेश गर्नुपर्ने विषय विभिन्न विषयवस्तुहरु सुझावका रुपमा राख्नुभएको थियो ।
कार्यविधिमाथि टिप्पणी गर्दै पत्रकार अनिलकुमार कर्णले प्रदेश सरकारले ल्याउन लागेको कार्यविधिले मधेश प्रदेशमा पत्रकारिता गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झा, नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष दिपेन्द्र चौहान सहितले धारणा राख्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
दीपेन्द्र खनियाँ
मधेस प्रदेश