मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिन एमाले सचिवालय बैठक बस्दै

baahrakhari.com · Fri May 22 02:50:50 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न सो पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।

यही जेठ ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ः३० बजे अध्यक्ष ओली निवास भक्तपुर, गुण्डुमा बस्नेछ ।

अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरुलाई पठाउने तयारी छ ।

गत मंसिर २७ देखि २९ मा भएको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो ।

यसपटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागमध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ ।

उपाध्यक्ष तथा उपमहासचिवलाई विभागका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ । रासस

#कार्यविभाजन

#एमाले सचिवालय बैठक

#अन्तिम रुप

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)