अन्तिम समयमा गोल गर्दै जापानले नेदरल्यान्ड्सलाई २-२ को बराबरीमा रोक्यो
nepalviews.com · Mon Jun 15 00:27:18 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को रोमाञ्चक खेलमा नेदरल्यान्ड्स र जापानले अंक बाँडेका छन्। अमेरिकाको डल्लास स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक भिडन्तमा जापानले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै नेदरल्यान्ड्सलाई २-२ गोलको बराबरीमा रोक्न सफल भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै नाटकीय र उतारचढावले पूर्ण बनेको थियो। खेलमा नेदरल्यान्ड्सले दुई पटकसम्म अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न विवश भयो।
दोस्रो हाफ सुरु भएको पाँचौँ मिनेटमै रायन ग्रेभनबर्चको उत्कृष्ट पासमा डिफेन्डर भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई १-० को सुरुवाती अग्रता दिलाए। नेदरल्यान्ड्सको त्यो खुसी धेरै समय टिक्न पाएन। खेलको ५७औँ मिनेटमा ताकेफुसा कुबोको पासलाई सदुपयोग गर्दै केइतो नाकामुराले गोल गरेर जापानलाई १-१ को बराबरीमा ल्याए।
नेदरल्यान्ड्सले पुनः आक्रामक रणनीति बुन्दै ६४औँ मिनेटमा क्राइसेन्सियो समरभिलको गोलमार्फत खेलमा २-१ को अग्रता बनायो।खेल नेदरल्यान्ड्सको पोल्टामा जाने निश्चित जस्तै देखिएका बेला ८९औँ मिनेटमा जापानका स्ट्राइकर कोकी ओगावाले उत्कृष्ट गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
फिफा
काठमाडौँ