पर्यटकका लागि मार्गदर्शन जारी
gorkhapatraonline.com · Mon Jun 15 00:32:04 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि सुरक्षा र आचरणसम्बन्धी मार्गदर्शन जारी गरेको छ । स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको यात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन मन्त्रालयले नेपाल प्रवेशसम्बन्धी औपचारिकता, सवारीसाधन र चालकका हकमा लागु हुने नियम, तीर्थयात्रासम्बन्धी कार्यविधि र स्थानीय संस्कृति र परम्पराको सम्मान गर्नुपर्नेलगायतका विषयबारे पर्यटकले गर्न हुने र गर्न नहुने मार्गदर्शन जारी गरेको हो ।
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले मर्यादित पहिरन लगाउनुपर्ने, धार्मिक स्थलमा जुत्ताचप्पल खोल्नुपर्ने, निश्चित सीमा (भारतीय नागरिकलाई अधिकतम पाँच हजार डलर) भन्दा बढी नगद रकम साथमा ल्याउँदा अनिवार्य रूपमा जानकारी गराउनुपर्ने र सुन, चाँदी जस्ता बहुमूल्य गहना ल्याउँदा प्रवेशविन्दुमै जानकारी गराउनुपर्ने मार्गदर्शनमा उल्लेख छ । यसै गरी आवश्यक अनुमतिपत्र लिएर मात्रै नेपाल प्रवेश गरेका पर्यटकले यात्रा समय, यात्रु र गन्तव्यसम्बन्धी विवरण सीमा सुरक्षाकर्मीलाई उपलब्ध गराउनुपर्ने, सवारीसाधन र सामान अनिवार्य रूपमा सुरक्षा जाँच गर्नुपर्ने र भारतीय नागरिकलाई भिसा आवश्यक नपरे पनि साथमा राहदानी वा मान्य परिचयपत्र अनिवार्य हुनुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)