झुट्टा एसएमएस पठाएर ठगीको प्रयास, सतर्क रहन टेलिकमको आग्रह
hamrakura.com · Mon Jun 15 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी 'कनेक्ट आइपिएस्' लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाका नाममा भ्रामक र झुट्टा सन्देशहरू पठाएर ठगी गर्ने गतिविधि बढेको पाइएको छ। यस्ता शङ्कास्पद गतिविधिहरू फैलिन थालेपछि नेपाल टेलिकमले एक विज्ञप्ति जारी गर्दै आफ्ना सम्पूर्ण ग्राहकहरूलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।
ठगहरूले पठाउने यस्ता भ्रामक सन्देशहरूमा ग्राहकको बैंक खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य प्राविधिक समस्या देखिएको भन्दै डर देखाउने गरेको पाइएको छ। समस्या समाधानका लागि भन्दै उनीहरूले एउटा शङ्कास्पद वेबसाइट वा लिङ्क सन्देशमै राखेर ग्राहकलाई त्यसमा प्रवेश गर्न प्रेरित गर्ने गरेका छन्। यस्ता लिङ्कमार्फत ग्राहकको बैंकिङ विवरण चोरी हुने जोखिम उच्च रहन्छ।
नेपाल टेलिकमले आफ्ना ग्राहकलाई यस्ता भ्रामक एसएमएस, अपरिचित फोन कल तथा शङ्कास्पद लिङ्कहरूप्रति सचेत रहन सचेत गराएको छ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि वा त्यसमा विश्वास गर्नु अघि सम्बन्धित बैंक वा वित्तीय संस्थाको आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न कम्पनीले सुझाव दिएको छ। आफ्ना गोप्य वित्तीय विवरणहरू सधैँ सुरक्षित राख्नु नै यसबाट बच्ने मुख्य उपाय भएको टेलिकमको भनाइ छ।
कम्पनीले सुरक्षाका लागि अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्न, वन टाइम पासवर्ड , बैंकिङ पासवर्ड, पिन, र कार्डको पछाडि रहने सिभिभी जस्ता अत्यन्तै गोप्य विवरणहरू कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ। बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी कुनै पनि जिज्ञासा वा जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुपर्छ।
यदि कसैलाई यस्ता शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा ढिला नगरी सम्बन्धित बैंक वा संस्थालाई तत्काल जानकारी गराउन समेत टेलिकमले अनुरोध गरेको छ। ग्राहकहरूको डिजिटल सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएकाले यस्ता भ्रामक गतिविधिबाट जोगिन सबै उपभोक्ता सजग हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)