निष्पक्षता र पद्धतिको आदर्श
gorkhapatraonline.com · Mon Jun 15 01:50:15 GMT 2026

नेपालको सबभन्दा जेठो संवैधानिक निकाय लोक सेवा आयोगले एक वर्षभरि हीरक महोत्सव मनाएको छ । आजबाट यो संस्था ७५ वर्ष पार गरेर ७६ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा प्रजातन्त्रको उषासँगै जन्मिएको यो संस्था साँच्चै प्रजातन्त्रको गहना थियो । लोकतान्त्रिक व्यवस्थाको पहिलो सर्त नै निष्पक्ष निर्वाचनबाट छानिएका जनप्रतिनिधि र योग्यताका आधारमा नियुक्त कर्मचारी हुन् । जनताका यिनै दुई थरी प्रतिनिधिको योग्यतामा लोकतन्त्र सफल हुन्छ किनकि सार्वजनिक सेवा यस्तो साधन हो, जसबाट लोकतन्त्रको वैधानिकता बलियो वा कमजोर हुन्छ । यसको अकुशलता र राजनीतीकरणले सुशासनमा असाधारण प्रभाव पर्न सक्छ । राजनीतिमा समाजशास्त्री केनेथ एरोको ‘जनरल इम्पसिबिलिटी थ्योरम’ ले भने जस्तै निर्वाचनबाट गलत विजेता आउने र प्रशासनमा ‘ज्याक्सनियन डेमोक्रेसी’ को जस्तो ‘लुट प्रणाली’ भयो भने लोकतन्त्रले आफैँ आत्महत्या गर्छ । त्यसैले सात सालको परिवर्तनपछि तत्कालीन नेताहरूले बुद्धिमानीपूर्वक ‘पब्लिक सर्भिस कमिसन’ गठन गरेर ‘योग्यताको मन्दिर’ खडा गरेका थिए ।
लोक सेवा आयोगले ७५ वर्षको यात्रामा निष्पक्षता र स्वच्छताको बलियो आधार विकसित गरेर आफ्नो इतिहास रचेको छ । नेपालमा यस्तो संस्था छैन जसले यसको जस्तो विश्वास आर्जन गरेको होस् । पद्धति त लोक सेवा आयोगबाट सिक्नु पर्छ, यसको पवित्रता र आदर्श अरू संस्थाका लागि ‘बेन्चमार्क’ हुनु पर्छ भन्ने सार्वजनिक क्षेत्रमा चर्चा हुने गर्छ । यो ख्याति त्यसै प्राप्त भएको हैन, सुरुदेखिका यसका पदाधिकारीको अथक प्रयासबाट यो सम्भव भएको हो । पङ्क्तिकारलाई पनि यो संस्थाको नेतृत्वमा रहने गौरव प्राप्त भएकोमा आजको दिन ‘नोस्ट्याल्जिक’ भएको महसुस हुन्छ । यस अवसरमा लोक सेवा परिवार र परीक्षाका तयारी गरिरहेका युवालाई बधाई दिन चाहन्छु । यो संस्था छ र तपाईं हामी सार्वजनिक सेवामा प्रवेश गर्ने अवसर पाइरहेका छौँ । हाम्रो समाजको मनोविज्ञान नै आफन्तलाई बर्कोभित्रबाट छिराउने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)