पुल जीर्ण, आवागमन अप्ठ्यारो
gorkhapatraonline.com · Mon Jun 15 02:54:28 GMT 2026

इटालियन सरकारले अस्थायी रूपमा निर्माण गरिदिएको पुल जीर्ण अवस्थामा रहेको छ ।
स्याङ्जाको मिर्मी र गुल्मी हर्मिचौर जोड्ने रेप्कामा २०५२ सालमा कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ निर्माणका क्रममा उक्त पुल इटालियन सरकारले अस्थायी रूपमा निर्माण गरिदिएको थियो । परियोजना निर्माणका लागि सामग्री ढुवानी गर्न निर्माण गरिएको सो पुल जलविद्युत् आयोजना निर्माण सम्पन्नपश्चात् स्थानीयको आग्रहमा सहजताका लागि जस्ताको तस्तै छाडिदिएको थियो ।
कालीगण्डकी नदीले पुलको पिल्लरमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको छ । तत्कालीन हर्मिचौर गाविसबाट केही रकम छुट्याएर सामान्य मर्मत गर्दै आएको भए पनि पछि उक्त पुलका पिल्लर नदीले कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र पोखरादेखि गुल्मीको पूर्तिघाट र बागलुङसम्म जाने सवारीसाधनले सो पुलको प्रयोग गर्दै आएका छन् । पुल जीर्ण बन्दा पनि सरोकारवाला कसैले विकल्पका रूपमा नयाँ पुल बनाउन पहलकदमी नलिएको भन्दै सवारीधनी र स्थानीयले गुनासो गर्दै आएका छन् । जुनसुकै समयमा पनि पुल भत्किन सक्ने भन्दै नागरिकको जिउधनका बारेमा कसैले पनि चासो नदेखाएको सवारीचालक र सवारीधनीले गुनासो गर्दै आएका छन् ।
बर्सौंदेखि जीर्ण रूपमा रहेको पुलका बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसक्नु दुःखद भएको यहाँका स्थानीयले जनाएका छन् । आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँमा र नेताको पहुँचका आधारमा खोला नै नभएका ठाउँमा पुल निर्माण गर्ने प्रचलन हुनुले पनि समस्या भएको लु. ४ त ७९२७ नम्बरको गाडीका सवारीचालक गगन तरामुले गुनासो गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)