'सुपर सब' डियालोको अन्तिम मिनेटको गोलमा इक्वेडरमाथि आइभरी कोस्टको रोमाञ्चक जित
nepalviews.com · Mon Jun 15 02:52:33 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'इ' को खेलमा अफ्रिकी राष्ट्र आइभरी कोस्टले विजयी सुरुवात गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सोमबार बिहान सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा आइभरी कोस्टले दक्षिण अमेरिकी टोली इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो। खेलको अन्तिम समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका अमद डियालो टोलीका लागि 'सुपर सब' साबित भए।
निर्धारित समयको अन्तिम मिनेटसम्म दुवै टोलीले गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि फितलो फिनिसिङका कारण खाता खोल्न सकेका थिएनन्। खेल बराबरीमा टुङ्गिने अनुमान भइरहँदा ९०औँ मिनेटमा विलफ्रेड सिंगोको उत्कृष्ट पासलाई सदुपयोग गर्दै अमद डियालोले प्रहार गरेको बल गोलमा परिणत भएपछि आइभरी कोस्टले जित निकालेको हो ।
यस जितसँगै समूह 'इ' मा ३ अंक जोड्दै आइभरी कोस्ट तालिकाको दोस्रो स्थानमा रहेको छ। यसअघि भएको सोही समूहको खेलमा कुरासाओलाई ७-१ को भारी गोल अन्तरले हराएको जर्मनी समान अंक भए पनि गोल आधारमा शीर्ष स्थानमा सुरक्षित छ। पराजित इक्वेडर र कुरासाओले भने हारबाट विश्वकपको यात्रा सुरु गरेका छन्। अब आइभरी कोस्टले आगामी जुन २० मा समूहको अर्को बलियो प्रतिद्वन्द्वी जर्मनीको सामना गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
फिफा
काठमाडौँ