मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजदेखि बंगलादेश निर्यात हुँदै बिजुली, कति आउँछ पैसा ?

corporatenepal.com · Mon Jun 15 02:58:11 GMT 2026

काठमाडौं । नेपालले आजदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु गरेको छ। वर्षायाममा हुने अतिरिक्त विद्युत् उत्पादनलाई उपयोग गर्दै नेपालले आगामी नोभेम्बर १५ सम्म पाँच महिनाका लागि बंगलादेशलाई विद्युत् आपूर्ति गर्ने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशुली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट विद्युत् गरी कुल ४० मेगावाट ऊर्जा बंगलादेश पठाइनेछ । यसका लागि नेपालले गत वर्ष नै आवश्यक अनुमति प्राप्त गरेको थियो ।

Advertisement

नेपाल र बंगलादेशबीच प्रत्यक्ष विद्युत् प्रसारण लाइन नजोडिएकाले भारतीय विद्युत् संरचना तथा प्रसारण प्रणालीमार्फत ऊर्जा निर्यात गरिँदै आएको छ। त्यसकारण यस्तो कारोबारका लागि भारतको स्वीकृति अनिवार्य रहने गर्दछ। भारतीय पक्षले दिएको अनुमतिअनुसार यी दुई आयोजनाबाट उत्पादित विद्युत् सन् २०२९ अक्टोबरसम्म बंगलादेश निर्यात गर्न सकिने व्यवस्था छ।

नेपालले पछिल्ला वर्षहरूमा वर्षायाम र उच्च उत्पादन हुने अवधिमा बंगलादेशलाई नियमित रूपमा विद्युत् बिक्री गर्दै आएको छ। यस वर्ष पनि जुन १५ देखि नोभेम्बर १५ सम्म ऊर्जा निर्यातको कार्यक्रम तय गरिएको छ ।

यसबीच, बंगलादेशले थप २० मेगावाट विद्युत् खरिद गर्ने इच्छा व्यक्त गरे पनि आवश्यक भारतीय स्वीकृति प्राप्त नभएकाले हालका लागि अतिरिक्त परिमाणको निर्यात सम्भव नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

उपलब्ध तथ्यांकअनुसार गत वर्ष जुन मध्यदेखि नोभेम्बर मध्यसम्म करिब १४७ गिगावाट–आवर विद्युत् बंगलादेश निर्यात गरिएको थियो । सम्झौताअनुसार बिक्रीदर प्रतियुनिट ६.४० अमेरिकी सेन्ट छ । हालको डलर विनिमयदर १५२ अनुसार, उक्त रकम करिब एक अर्ब ४३ करोड ४३ लाख बराबर हुन आउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय