मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सगरमाथाको चुचुरोमा अमेरिकी कूटनीतिज्ञ

ratopati.com · Fri May 22 09:20:51 GMT 2026

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासका पब्लिक अफेयर चिफ (सार्वजनिक मामिला प्रमुख) माइक हार्करले सगरमाथाको सफल आरोहण गरेकी छिन् । जेठ ६ गते बिहान ९ बजेर १० मिनेटमा उनले सगरमाथा आरोहण गर्न सफल भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

योसँगै उनी सगरमाथाको शिखरमा पाइला टेक्ने पहिलो बहालवाला अमेरिकी कूटनीतिज्ञ भएकी छिन् । यो आरोहण अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव ‘फ्रिडम २५०’ को पूर्वसन्ध्यामा भएको हो, जसले अमेरिकी नागरिकको साहस, दृढ सङ्कल्पलाई उजागर गरेको बताइएको छ ।

अमेरिकी अधिकारी हार्करले यो आरोहण पूर्ण रूपमा आफ्नो व्यक्तिगत क्षमता र प्रयासमा गरेकी हुन् । उनको यो सफलता २० वर्ष लामो अथक यात्राको परिणाम रहेको दूतावासले जनाएको छ । सन् २००६ मा अन्नपूर्ण आधार शिविरको ट्रेकिङका क्रममा उनी पहिलो पटक नेपाल आएकी थिइन् ।

यो सफल आरोहणले नेपाल र अमेरिका बिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ उचाइमा पुर्याएको बताइएको छ । सगरमाथा जस्तो विश्वकै अमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्नु अत्यन्तै जरुरी रहेको र यसले मात्र आगामी पुस्ताका साहसीहरूलाई प्रेरित गरिरहने अधिकारी हर्करले बताइन् ।

यसअघि वैशाख १८ गते दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सगरमाथा आधार शिविरमा अल्ट्र एक्स जेन–२ नामक अमेरिकन ड्रोन परीक्षण गरेका थिए । त्यसको २० दिनपछि दूतावासका पब्लिक अफेयर हार्करले सगरमाथाको सफल आराेहण गरेकी छन् ।

उक्त कार्गो ड्रोन परीक्षण पनि विवादमा परेको छ । चीनले त्यसमा आपत्ति जनाएपछि नेपाल सरकारले त्यसलाई उडाउन अनुमति नदिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । हुन त १८ गते ड्रोन परीक्षणका लागि अमेरिकी दूतावासले गृह मन्त्रालयसँग अनुमति मागेको थियो । तर दुई देश (अमेरिका–चीन) को संवेदनशीलतालाई मध्यनजर गर्दै सो ड्रोन उडाउन अनुमति नदिएको स्रोतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)