मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपाल टेलिकमको चेतावनी: बैंक तथा डिजिटल भुक्तानीका नाममा फैलिँदै गरेको भ्रामक एसएमएसबाट सतर्क रहनु होला

kalakarmi.com · Mon Jun 15 05:18:10 GMT 2026

काठमाडौं– नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाहरूको नाममा भ्रामक सन्देशहरू पठाइने घटना बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै ग्राहकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कम्पनीका अनुसार कनेक्ट आईपिएस लगायतका विभिन्न डिजिटल भुक्तानी सेवा तथा बैंकहरूको नाम प्रयोग गरी प्रयोगकर्ताहरूलाई ‘खाता निलम्बन भएको’, ‘अस्थायी रूपमा बन्द भएको’ वा ‘तत्काल अपडेट आवश्यक भएको’ जस्ता डर देखाउने सन्देशहरू पठाइँदै शंकास्पद वेबसाइट वा लिंकहरूमा प्रवेश गराउने प्रयास भइरहेको पाइएको छ ।

नेपाल टेलिकमले यस्ता एसएमएस, फोन कल तथा अनधिकृत लिंकहरूबाट ठगी हुने जोखिम उच्च रहेको भन्दै कुनै पनि अनजान लिंकमा क्लिक नगर्न चेतावनी दिएको छ । साथै, लिंक प्रयोग गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत मात्र जानकारी पुष्टि गर्न आग्रह गरिएको छ ।

कम्पनीले OTP, पासवर्ड, PIN तथा CVV जस्ता संवेदनशील विवरणहरू कुनै पनि अवस्थामा अरूसँग साझा नगर्न विशेष अनुरोध गरेको छ । बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सबै जानकारीका लागि आधिकारिक माध्यम मात्र प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

यस्तै, शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित बैंक वा संस्थालाई तत्काल जानकारी गराउन पनि ग्राहकहरूलाई सुझाव दिइएको छ ।

नेपाल टेलिकमले ग्राहक सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकता भन्दै यस्ता भ्रामक गतिविधिबाट जोगिन सबै प्रयोगकर्तालाई सचेत रहन पुनः आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय