साढे ४४ प्रतिशतमा पुग्यो बिमा पहुँच
ekantipur.com · Sat May 06 16:44:41 GMT 2023
काठमाडौँ — नेपालमा बिमा पहुँच करिब साढे ४४ प्रतिशत पुगेको नेपाल बिमा प्राधिकरणको तथ्यांकले देखाएको छ । पछिल्ला वर्षमा तीव्र रुपमा बिमा सेवाको विस्तार बढेकाले समग्र बिमा पहुँचमा पनि वृद्धि भएको प्राधिकरणको मासिक तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार गत चैतसम्म मुलुकको कुल जनसंख्याको करिब साढे ५५ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर छन् ।
तथ्यांकमा म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाहरूले गरेको बिमा पनि समावेश छ । तर म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाले गरेको बिमा हटाउँदा गत चैतसम्म करिब १८ प्रतिशत नागरिकमा मात्र बिमा पहुँच पुगेको प्राधिकरणले जनाएको छ । उक्त तथ्यांकमा म्यादी र लघु म्यादी बिमा समावेश गर्दा करिब ३९.७४ प्रतिशत र म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाले गरेको पनि समावेश गर्दा बिमा पहुँच ४४.५५ प्रतिशत रहेको प्राधिकरणको तथ्यांक छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता दोहोरिएजस्तै एकै व्यक्तिले पनि एकभन्दा बढी बिमा गरेको हुन सक्ने भएकाले नेपालको कुल जनसंख्याको करिब साढे ४४ प्रतिशतमै बिमा पहुँच पुगेको भन्न अप्ठ्यारो हुने जानकारहरु बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)